प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक गोष्ठी सम्पन्न

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका उपायहरू विषयक एक दिवसीय गोष्ठी आइतबार सम्पन्न भएको छ ।   

गोष्ठी उद्‍घाटन पश्चात प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-२ विमोचन गर्नुभयो ।

कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कानूनको शासनको प्रवर्द्धन गर्दै न्यायपूर्ण समाजको स्थापना गर्ने कार्यमा न्यायपालिका, महान्यायाधिवक्ताको कार्यालय एवम् नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै तीन वटै निकायको संलग्नतामा हुन लागेको यस गोष्ठी एवम् अन्तरक्रियाले सम्बद्ध फौजदारी न्याय प्रशासनको प्रवर्द्धन एवम् सुदृढिकरणमा समेत थप योगदान पुर्‍याउँदै मुलुकमा दण्डहिनताको अवस्थाको अन्त्य गर्ने कार्यमा समेत थप मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।

प्रधान न्यायाधीश राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारीताको लागि न्यायिक इतिहासको विभिन्न कालखण्डमा भएका प्रयास र अनुभवका साथै संवैधानिक कानूनी परिवर्तन एवम् जनअपेक्षा अनुरूपको सुदृढ र प्रभावकारी फौजदारी न्याय प्रणालीको विकास र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै फौजदारी न्यायका परम्परागत मान्यता अवधारणा र मापदण्डबाट माथि उठेर अपराध अनुसन्धानमा नविन शैलीको विकास गर्दै अनुसन्धान र अभियोजनको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित, स्वीकृत र अवलम्बित मान्यता र मापदण्डको अनुशरण गरिनु जरूरी रहेको बताउनुभयो ।  नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलको संस्थागत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै जानसके देखिएका चुनौतिहरू चिर्न सफल हुने बताउँदै फौजदारी न्याय प्रणालीलाई थप प्रभावकारी एवम् विश्वसनीय बनाउनको निम्ति आवद्ध निकायहरूलाई थप सक्षम, निष्पक्ष बनाउन अपरिहार्य रहेको बताउनुभयो । अनुसन्धान तथा अभियोजनको निष्पक्षतामा नै समग्र फौजदारी न्याय प्रशासनको प्रभावकारीता हुनेमा उहाँले जोड दिनुभयो । संविधानद्वारा प्रत्याभूत गरिएको व्यक्तिको हक अधिकारको सम्मान गर्दै अपराध अनुसन्धानलाई वैज्ञानिक तथ्य, एवम् प्रमाणमा आधारित बनाई अगाडि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले अनुसन्धानलाई बयानमुखी भन्दा सबुत प्रमाणमुखी बनाउन सके अपराधका तथ्य प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहिनताको संस्कृतिको अन्त्य हुने विश्वास लिन सकिने बताउनुभयो ।  

गोष्ठीमा महान्यायाधिवक्ता रमेश वडालले अनुसन्धान र अभियोजनमा देखिएका कमी कमजोरीहरू सुधार गर्दै जानुपर्ने बताउँदै गोष्ठीबाट आएका सुझावहरूलाई यस्ता कमी कमजोरीलाई सम्बोधन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले अपराधको प्रभावकारी रोकथाम र परिणाममुखी अनुसन्धानको साथै अनुसन्धानको क्रममा संविधान प्रदत्त हक अधिकारहरूको संरक्षण गरी प्रभावकारी न्याय सम्पादन गर्ने मार्ग तय गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा फौजदारी न्याय प्रणाली सुधारका लागि अनुसन्धान, अभियोजन र निर्णय एवम् फैसला गर्ने तीन वटै संस्थाहरूको परस्पर प्रभावकारी समन्वय हुन आवश्यक रहेको बताउनुभयो । यस गोष्ठीले तीन वटै निकाय बिच नविनतम् विचारका साथै महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास लिएको उहाँले व्यक्त गर्नुभयो । 

गृहसचिव दुवाडीले समाजको विकासक्रम र गतिशिलता सँगै अपराधमा प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको उल्लेख गर्दै अपराधको नयाँ शैली र सञ्जाललाई निस्तेज बनाउन फौजदारी कानूनको समयानुकुल संशोधन एवम् परिमार्जन सँगसँगै अनुसन्धान अभियोजन र फैसलामा पनि शैली र संयन्त्रको आधुनिकिकरण, प्रविधिकरण एवम् वैज्ञानिकिकरण गर्न जरूरी रहेको बताउनुभयो । साथै उहाँले आ-आफ्नो कार्यक्षेत्र अनुरूप विभिन्न क्षेत्रमा कार्यरत रहेता पनि हाम्रो मुल लक्ष्य भनेकै कसूर तथा अपराधको नियन्त्रण, निष्पक्ष अनुसन्धान र कानून बमोजिमको सजाय मार्फत सुरक्षित समाजको निर्माण गर्नु नै भएको बताउनुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले फौजदारी न्याय प्रणालीको प्रभावकारीता अभिवृद्धि गर्न, यसका चुनौति र समाधानका उपायहरू पहिल्याउने उद्देश्यका साथ आयोजित यस गोष्ठीले फौजदारी न्याय प्रणालीका सबै महत्वपूर्ण स्तम्भहरूलाई एक साथ राखेर छलफल र अन्तरक्रियाले साझा धारणाको विकास गर्ने अपेक्षा लिएको एवम् गोष्ठीले फौजदारी न्याय प्रणालीलाई अझ सुदृढ बनाउने बताउनुभयो । अनुसन्धानकर्ता, अभियोजनकर्ता र न्याय निरूपणकर्ता बिचको व्यावसायिक समन्वयात्मक सम्बन्धले अनुसन्धान, अभियोजन र न्याय निरूपण कार्य त्रुटिरहित र प्रभावकारी भई न्यायको अनुभूतिसँगै कानूनी शासनको प्रत्याभूति समेत सुनिश्चितता हुने उहाँले बताउनुभयो । 

 प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र प्रमाणमुखी अनुसन्धान नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहेको चर्चा गर्दै संगठनले यस जिम्मेवारीलाई गम्भीर र संवेदनशील रूपमा लिएको बताउनुभयो । अपराध अनुसन्धानको क्रममा परम्परागत तौर तरिकालाई अक्षुण्ण राख्दै प्रविधिको उच्चतम प्रयोग गरी अनुसन्धान कार्यलाई वस्तुगत, प्रमाणमुखी समयानुकूल बनाउँदै आएको उहाँले बताउनुभयो । 

 नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका उक्त गोष्ठीमा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । 

गोष्ठीमा सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेलले सरकारवादी फौजदारी मुद्दाहरूको न्याय निरूपणको अवस्था, नयाँ चुनौति, न्यायपालिकाको रणनीति तथा फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायहरूसँग अदालतको अपेक्षा, नायव महान्यायाधिवक्ता संजीव राज रेग्मीले सरकारवादी फौजदारी न्याय प्रशासनमा अभियोजनको अवस्था, नयाँ चुनौति, सुधारका रणनीति र फौजदारी न्याय प्रशासनका सरोकारवाला निकायहरूसँग अभियोजनकर्ताको अपेक्षा, प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले अपराध अनुसन्धानको अवस्था, नयाँ चुनौति, सुधारको लागि प्रयोग गरिएका रणनीति र फौजदारी न्याय प्रशासनमा सरोकारवाला निकायहरूसँग नेपाल प्रहरीको अपेक्षा एवम्  उपत्यका प्रहरी कार्यालय र सात वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रतिनिधिहरूले अपराध अनुसन्धानमा देखिएका चुनौतिहरू, अदालत तथा सरकारी वकिल कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   

गोष्ठीको दौरानमा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, न्यायाधीश हेमन्त रावल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. रमेश पराजुली लगायतले प्रस्तुतीकरण एवम् छलफलमा उठेका विविध विषयका जिज्ञासाहरूको निरूपण गर्नुभएको थियो ।  

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहन्यायाधिवक्ताहरू, जिल्ला न्यायाधीशहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, कानून व्यवसायीहरू लगायतको उपस्थिति एवम् प्रदेश प्रहरी प्रमुखहरू तथा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुएल उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्ता सँग छलफल एवम् अन्तरक्रिया
२०८२-११-०५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-१०-१८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने तेस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. भरत कुमार श्रेष्ठलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ९ जना गरी कुल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव सम्पन्न
२०८२-१०-१०

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सो अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कार्कीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट शिक्षकहरू र उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।   कार्यक्रममा संघकी अध्यक्ष कार्कीले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिका साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । साथै विद्यालयको निरन्तर उन्नती तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा विद्यालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट गीत, सांस्कृतिक नृत्य तथा तेक्वान्दो कला समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान
२०८२-१०-०७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स तालिम २४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २१ गतेबाट संचालित ३५ कार्यदिन अवधि रहेको उक्त तालिममा  प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान २९ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

४७ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८२-१०-०६

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४४ जना गरी कुल ४७ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गीति रचना प्रतियोगिता
२०८२-०९-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ७० औं वार्षिकउत्सव २०८२ को अवसरमा “राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान (Anthem)” को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुक महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरेको छ । जसमा ईच्छुक महानुभावहरुले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगंजस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्ने वा ईमेल ठेगाना npa_anthem@nepalpolice.gov.np मा पनि आफ्नो रचना पठाउन सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।  प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वेबसाइटमा राखिएको छ ।