प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ

२०८१-१०-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपालमा गैरकानूनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाईन स्क्याममा संलग्न रहेको अभियोगमा ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भएका २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा भिमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ तेजविनायक चोक बस्ने १९ वर्षीय आश्विन चौलागाई, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं वानेश्वर बस्ने २२ वर्षीय सत्यम कुमार सहनी, भारत प्रतापपट्टी साहेवगंज बिहार घर भई काठमाडौं महानगरपालिका-२५ बस्ने २७ वर्षीय रेशन कुमार र भारत पूर्वी चम्पास बिहार घर भई काठमाडौं महानगरपालिका-९ बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् । उनीहरूको साथबाट नगद ५ लाख ५० हजार रूपैयाँ, कम्प्युटर २ थान, मोबाइल १३ थान र विभिन्न बैंकको चेक १९ थान प्रहरीले बरामद गरेको छ । 

उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोवार गर्ने गरेको, विभिन्न बैंक तथा डिजिटल वालेटहरूका प्रयोगकर्ताहरूलाई झुक्याई बैंक तथा वालेटहरूको आधिकारीक व्यक्ति भनि निजहरूको ओटिपि/पिन माग गरी अनाधिकृत रूपमा बैंक तथा डिजिटल वालेटमा पहुँच पुर्‍याई रकम ठगी गर्ने गरेको, विभिन्न सामाजिक संजालमा अनलाईन जब, अनलाईन ग्याम्बलिङ आदी जस्ता आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाई साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटमा पहुँच पुर्‍याई निजहरूको रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यसैगरी ठगी गरेको रकम विभिन्न व्यक्तिहरूको बैंक तथा डिजिटल वालेटहरूमा ट्रान्सफर गर्ने, विभिन्न माध्यमबाट मानिसहरूलाई प्रलोभनमा पारी उनीहरुको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा डिजिटल वालेटहरूमा खाता खोल्न लगाई उक्त खाता आफुले प्रयोग गर्ने र प्रयोग गरे बापत निश्चित रकम दिने गरेको र यस्ता खाताहरूमा अनलाईन ठगी बाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरीद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको खुल्न आएको छ । हालसम्म उनीहरूले ३ अर्ब भन्दा बढी रकम ठगी गरेको समेत खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-०९-०३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कबिराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ शान्तिटोल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका ४३ वर्षीय यम बहादुर बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कचनकबल गाउँपालिका-३ घर भएका ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-९ घर भएका ४१ वर्षीय सूर्य बहादुर खड्का रहेका छन् । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई नागरिकता, लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१५ घर भएका ५० वर्षीय लाल बहादुर बराइलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।