प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ

२०८२-०१-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया शुसिला कुमारी साहु, २२ वर्षीय शम्भु मेहता, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरूण कुमार साह, ४४ वर्षीय संजिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदिप कुमार साह, ३२ वर्षीय बिकर्ण जंग राणा, ३८ वर्षीय सलमा खातुन, नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भीम कुमारी गुरूङ, ३४ वर्षीय गणपति पाण्डे, र चितवनका ६४ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि Money Mule हरूलाई परिचालन गरी ठुलो परिमाणमा नगदै रकम खातामा Placement गर्ने गरेको, विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमती लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरू मार्फत ई-मनि बनाई सो रकमलाई  रेमिटेन्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको समेत खुल्ल आएको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।