प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा पक्राउ

२०७८-१०-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-६ घर भएका नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, १/१ थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस पेट जार सहित फेला पारी पक्राउ गरेको हो । 

श्रेष्ठले बिगत ७ वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रति केजी ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको बुझिएको उक्त महाशाखाले जनाएको छ । साथै उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंमा परिक्षण गर्दा एचएमएफ र एफजी रेसियोको मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहको र मह खान योग्य नरहेको भन्ने खुलेको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको   छ ।


सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८२-११-०५

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क बस्ने काभ्रे चौंरीदेउराली गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछाप मन्थली नगरपालिका-८ घर भएकी १९ वर्षीया सुनिता बस्याल रहेका छन् । कीर्तिपुर नगरपालिका-४ चम्पादेवी बसपार्क नजिक एक घरबाट सुनका गरगहना र नगद चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई सोही नगरपालिका-४ चम्पादेवी बसपार्क नजिकबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ४८ हजार ४ सय ४९ रूपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, मोटरसाइकल १ थान र मोबाइल ३ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-११-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।  पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-११-०५

कास्की, गैरकानुनी रूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनी रूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐन सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।