अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-०४-१०
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-६ बस्ने २१ वर्षीय नवराज मिजारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कचनकवल गाउँपालिका-४ लोधावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५८ ग्राम ४ सय मिलिग्राम सहित भारत बिहार बस्ने २९ वर्षीया तबसुम आरा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमही नगरपालिका-५ कोईलाबास रोड बस्ने ३१ वर्षीय रमेश पौडेल र २६ वर्षीय अजित पौडेल रहेका छन् । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले बा.१५ च ९१२३ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-३ बारघरे बस्ने ३३ वर्षीय गम बहादुर परियारलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५८ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।