प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

२०८२-०४-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले गत आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको एक वर्षको अवधिमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । 

सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत कुल दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्या बारे जानकारी दिनुभयो । प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरूको बारेमा संख्यागत विवरण प्रस्तुत गर्नुभयो । 

यसैगरी उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति/ पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै प्रशिक्षण सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र हराएका तथा फेला परेका मानिसहरूको विवरण सम्बन्धी तथ्याङ्क समेत उहाँले प्रस्तुत गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक घिमिरेले सो अवधिमा भएका चर्चित अपराधको अनुसन्धान सम्बन्धी विवरण, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता एवम् एनसिबि काठमाडौंले सम्पादन गरेका कार्यहरूको विवरण बारे जानकारी दिनुभयो । यसैगरी प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनतर्फ सवारी दुर्घटना सम्बन्धी तथ्याङ्क, ट्राफिक कारवाही सम्बन्धी विवरण, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, नागरिकसँगको सम्बन्ध, सूचना प्रवाह र प्रहरी सेवा, हासिल गरेका मुख्य उपलब्धिहरूको बारेमा समेत उहाँले उपस्थित सञ्चारकर्मीहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । 

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घिमिरेले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवम् सुदृढीकरण, प्रहरी कर्मचारीको व्यावसायिकता एवम् नागरिक प्रतिको जवाफदेहीताको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजाने बताउनुभयो ।   

विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरू तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   


सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा विभिन्न प्रहरी कार्यालयका प्रवक्ता सँग छलफल एवम् अन्तरक्रिया
२०८२-११-०५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन वा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूलाई नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम सुरू
२०८२-१०-१८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने तेस्रो समूहको ‘दमकल, वाटर क्यानन् चालक तथा अप्रेटर तालिम’ सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले आइतबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक ई. भरत कुमार श्रेष्ठलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ७ जना र प्रहरी जवान ९ जना गरी कुल २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव सम्पन्न
२०८२-१०-१०

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सो अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कार्कीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट शिक्षकहरू र उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।   कार्यक्रममा संघकी अध्यक्ष कार्कीले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिका साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । साथै विद्यालयको निरन्तर उन्नती तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा विद्यालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट गीत, सांस्कृतिक नृत्य तथा तेक्वान्दो कला समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान
२०८२-१०-०७

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स तालिम २४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २१ गतेबाट संचालित ३५ कार्यदिन अवधि रहेको उक्त तालिममा  प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान २९ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

४७ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८२-१०-०६

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ४७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महशुस गराउनुपर्नेमा जोड  दिनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४४ जना गरी कुल ४७ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गीति रचना प्रतियोगिता
२०८२-०९-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ७० औं वार्षिकउत्सव २०८२ को अवसरमा “राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान गान (Anthem)” को लागि देशव्यापी गीति रचना प्रतियोगिता आयोजना गरेको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सोमबार प्रतियोगिता सम्बन्धी सूचना प्रकाशित गर्दै ईच्छुक महानुभावहरूलाई सहभागिताको लागि आव्हान समेत गरेको छ । जसमा ईच्छुक महानुभावहरुले २०८२ माघ १५ गते कार्यालय समयभित्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको महाराजगंजस्थित कार्यालयमा उपस्थित भई आफ्नो रचना दर्ता गर्न सक्ने वा ईमेल ठेगाना npa_anthem@nepalpolice.gov.np मा पनि आफ्नो रचना पठाउन सक्नेछन् । निर्णायकबाट छनौट भएको उत्कृष्ट गीति रचनालाई ५१ हजार रूपैयाँ नगद र प्रशंसापत्र प्रदान गर्ने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीति रचनालाई संगीत दिई प्रहरी प्रशिक्षण प्रतिष्ठान गानको रूपमा प्रहरीले प्रयोग गर्ने पनि प्रतिष्ठानले जनाएको छ ।  प्रतियोगिता सम्बन्धी शर्त तथा थप जानकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको वेबसाइटमा राखिएको छ ।