अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०५-०४
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नारायणटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याव्लेट सहित सोही नगरपालिका-४ गोकर्ण बस्ने २५ वर्षीय अनिष श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा. प्र.०२-०३७ प ९६५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश थापा मगर र २६ वर्षीय जीवन थापा मगर रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतको बलइगाउँबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, विष्णुपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ ग्राम ३ सय १० मिलिग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ बस्ने ३८ वर्षीय दिनेश सुनार समेत तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले सिराहाबाट चौहर्वातर्फ जाँदै गरेको प्र.२-०१-००१ज ००४३ नम्बरको विङ्गरलाई जाँच गर्ने क्रममा विङ्गरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।