अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०५-१०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका-६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय सुर्य बहादुर थापा रहेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १२ हजार ६ सय ट्याब्लेट सहित कोशी गाउँपालिका-६ बस्ने २१ वर्षीय सुनिल मुखिया समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मघुवनबाट खटिएको प्रहरी लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्रदेश १-०२-१६ प १२८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्राम सहित कटहरी गाउँपालिका-४ बस्ने ५० वर्षीय महेन्द्र साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१ -०२ ०५१ प २७५९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ ग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने सुर्य बहादुर थिङ र ३६ वर्षीय हिरालाल तामाङ
रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, नोर्फिन ३७ एम्पुल र फेनारगन ३७ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र २२ वर्षीय अर्जुन गुरूङ रहेका छन् । वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ५४५१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२ देवकोटा चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनारगन ३० एम्पुल सहित लमजुङ बेसीशहर नगरपालिका-३ बस्ने २४ वर्षीय सुरेश परीयारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट नियन्त्रित लागूऔषध ट्रामोल ६० ट्याब्लेट र स्पास्मो १८ ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने २२ वर्षीय राजेन्द्र खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने २५ वर्षीय मनिष घर्तीमगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ रांगा मार्केट चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ सौडियार सुकारी टोल बस्ने २६ वर्षीय प्रविन घर्तीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।