प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री ओमप्रकाश अर्यालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

२०८२-०६-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृह एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । 

गृहमन्त्री अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरीले स्थापना कालदेखि देशमा भएका विभिन्न द्वन्द्व, उतार चढाव, राजनीतिक परिवर्तन र संक्रमणकालहरूमा अविचलित रहँदै देश र जनताको स्वार्थ र आकांक्षालाई केन्द्रबिन्दुमा राखेर आफ्नो कर्तव्य प्रभावकारी रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

गृहमन्त्री अर्यालले विगत १० दिनदेखि नेपाली समाजको नवीनतम् र चेतनशील पुस्ता जेन-जी ले गरेको ऐतिहासिक आन्दोलनलाई नेपाल प्रहरीले सम्मान गर्ने र यसका उपलब्धीहरूको संरक्षणका लागि रचनात्मक योगदान पुर्‍याउने कुरामा आफू र नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो । अत्यन्त सीमित स्रोत साधनहरूको उपलब्धताका बीच नेपाल प्रहरीले पनि हालैको आन्दोलनलाई सापेक्षित रूपमा अत्यन्त संवेदनशील र संयमित भएर सम्बोधन गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले भन्नुभयो, ‘ आन्दोलनको क्रममा नेपाल प्रहरीले निरन्तर बल प्रयोग र दमनको नीति अवलम्बन गरेको भए संकट अझै बढ्ने र राज्यले अझ ठूलो र अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेको थियो । म यस ऐतिहासिक घडिमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमता र सहनशीलताको उच्च कदर र सम्मान गर्दछु । आन्तरिक सुरक्षामा नेपाल प्रहरीको प्रमुख दायित्व नै जनधनको सुरक्षा गर्नु हो । पूर्व सरकारविरूद्धको जनआक्रोशका बीच कानुन कार्यान्वयन र शान्ति सुव्यवस्था कायम गर्ने निकायको रूपमा नेपाल प्रहरीका सकल दर्जाहरूबाट प्रदर्शित संयमतापूर्ण व्यवहारले राज्य, नागरिक र निकायहरूमा हुन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गरेको मैले महसुस गरेको छु । यसका लागि नेपाल प्रहरीका कुनै पनि कर्मचारीले ग्लानि महसुस गर्नुपर्ने कुनै कारण छैन । यहाँहरू सदैव जनताको मनमा हुनुहुन्छ, ढुकढुकीमा हुनुहुन्छ र आफ्नो जिम्मेवारीलाई अझ दृढ रूपमा निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

गृहमन्त्री अर्यालले नेपाल प्रहरीको अनुपस्थिति वा कमजोर उपस्थितिले आम जनताको दैनिकीमा अत्यन्त ठूलो र नकारात्मक प्रभाव पर्नुका साथै समाजमा अराजकता मौलाउने अवसर प्राप्त हुने बताउनुहुँदै कानुन बमोजिम कर्तव्य पालनाको क्रममा उच्च मनोबल बनाउनुपर्ने तथा कार्यक्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आम जनताहरूमा प्रहरी सेवाको आवश्यकता र महत्व कति रहेको भन्ने कुरा हालै भएको आगजनी र तोडफोड भएका प्रहरी इकाइहरूको पुनर्स्थापना, प्रहरी कर्मचारीहरूको सम्मान र मनोबल बढाउनका लागि समुदायले लिएको अग्रसरताबाट पुष्टि भएको बताउँदै नेपाल सरकार एवम् गृहमन्त्रालयबाट नेपाल प्रहरी संगठनको सुदृढिकरण र प्रहरी कर्मचारीहरूको मनोबल बढाउनुका लागि ठोस प्रयासहरू हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरीप्रति राज्य र नागरिकहरूका असीमित अपेक्षा रहेको र प्रहरीले साधनस्रोतहरूको सीमितताबाट नागरिकहरूका असीमित आकांक्षाहरू सम्बोधन गर्दै आइरहेको तथा आगामी दिनमा सांगठनिक सुधारका लागि प्रहरीको नेतृत्व एवम् सबै प्रहरी कर्मचारीहरूको पहलकदमी हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    

     

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले जस्तो सुकै कठिन परिस्थितिहरूका बीचपनि नेपाल प्रहरीका कर्मठ सदस्यहरूले आम जनजीवन, राज्यको सम्पत्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढतापूर्वक आफ्नो कर्तव्य पुरा गर्दै आएको बताउनुभयो । गृहमन्त्रीज्यूबाट व्यक्त भएका सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशनले नेपाल प्रहरी प्रधान कार्यालय तथा देश भरी छरिएर रहेका प्रहरी इकाइहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल र उत्साह वृद्धि हुनुका साथै आगामी कार्यदिशा थप प्रभावकारी र परिणाममूखी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक खापुङ्गले हालको स्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतीहरू एवम् असहज परिस्थितिहरूको सामना गर्दै आम नागरिकहरूलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउँदै नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिवद्ध रहेको बताउनुभयो । नेपालको संविधान, प्रचलित ऐन कानुन तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको काम कर्तव्य र दायित्व प्रति नेपाल प्रहरी पूर्णत निष्ठावान रहि आफ्नो जिम्मेवारी बहन गर्दै आएको बताउँदै नेपालको फौजदारी कानुनी प्रणालीमा आधारित रहि अपराध अनुसन्धानलाई परिणाममूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक रहि कार्यसम्पादन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक खापुङ्गले देशको राजधानी लगायत ठुला शहर तथा महानगरहरूमा अर्बान पुलिसिङ्का लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा उपकरण र केही कानुनी अधिकारहरूले सुसज्जित हुन नितान्त जरूरी रहेको उल्लेख गर्दै समग्र नेपाल प्रहरीको आधुनिकीकरणमा हुने विलम्बले आम नागरिकमा राज्यका संरचनाहरू प्रतिको भरोसा प्रभावित हुने र देशको आन्तरिक सुरक्षाको मेरूदण्ड कमजोर हुने बताउनुभयो । राज्यले सुम्पेको जिम्मेवारी बहन गर्ने आफ्नो मूलभूत दायित्वबाट नेपाल प्रहरी कहिलै बिमुख नभएको एवम् जनअपेक्षा अनुरूपको सेवा प्रवाहको लागि आवश्यक भौतिक स्रोत साधन र पूर्वाधार तथा नवीनतम् प्रविधिका साथसाथै वर्तमान परिपेक्षमा प्रहरी कर्मचारीहरूको हौसला र मनोबल अभिवृद्धिलाई अत्यन्त महत्वका साथ सम्बोधन गर्नुपर्ने संवेदशील घडीलाई तालुक मन्त्रालयबाट उच्च प्राथमिकताका साथ सम्बोधन हुने अपेक्षा राखेका उहाँले बताउनुभयो । युवा पुस्ताले चाहना गरेको परिवर्तनको लहरमा आफ्नो स्वार्थ सिद्ध गर्न, राज्यको ऐतिहासिक धरोहरहरू, महत्वपूर्ण प्रतिष्ठानहरू, निजि तथा सार्वजनिक सम्पत्तिहरू, व्यापारीक प्रतिष्ठानहरू लगायतमा पुर्‍याइएको क्षतिमा संलग्नहरूको पहिचान एवम् अनुसन्धान गरी कानुन बमोजिम कारवाहीको दायरामा ल्याई आम नागरिकको मनमा कानूनी राज्य र कानूनको शासनको प्रत्याभूति दिलाउन हामी सफल हुनेछौ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री अर्याल समक्ष प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ
२०८२-१०-२५

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ भएको छ । गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गर्नुभएको हो ।समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक संजालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूको बारेमा नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरू लगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिएको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उहाँले बताउनुभयो । गृहमन्त्री अर्यालले यस सम्मेलनमा हुने अन्तरक्रिया र बहसहरूले आम जनताले अपेक्षा गरे अनुरूप प्रहरी संगठन बनाउने, सेवा प्रवाहका सन्दर्भमा मूल्यवान तथा ठोस् सुझाव प्राप्त हुने र प्राप्त सुझाव, निष्कर्ष एवम् मार्गदर्शनहरूले नेपाल प्रहरीको रणनीतिक रूपान्तरणमा ठोस् योगदान पुर्‍याउने एवम् नेपाल प्रहरीले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो हुने विश्वास व्यक्त गर्नुभयो । सांगठनिक क्षमताहरूको पुनर्स्थापना र अपराधका नवीनतम् चुनौतीहरूको सम्बोधन गर्न सक्षम एवम् सुदृढ संगठन निर्माणका लागि यस सम्मेलन अत्यन्तै उपयोगी हुने तथा सम्मेलनका निष्कर्षहरू र तत्पश्चात्‌का नेपाल प्रहरीका रणनीति एवम् योजनाहरू कार्यान्वयनमा नीतिगत रूपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन र सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखा परेका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यस सम्मेलन महत्वपूर्ण हुने उल्लेख गर्दै सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । विद्यमान अवस्थामा साइबर अपराध, आर्थिक अपराध जटिल रूपमा देखा पर्दै आइरहेको तथा परम्परागत अपराधका प्रवृत्तिहरूमा समेत परिवर्तन हुँदै आएको बताउँदै यस्ता अपराधहरू नियन्त्रण एवम् न्यूनीकरण गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र यस भूमिका निर्वाहमा सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आधुनिक प्रविधिको प्रयोग गरी प्रहरीले काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्नको लागि यस सम्मेलनले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुन अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताउनुभयो । संघीय शासन प्रणालीको कार्यान्वयन सँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको तथा यस्तो परिवर्तित समय सन्दर्भमा संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास, डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तन जन्य विपद तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्दै त्यसका लागि प्रहरीले हेर्ने दृष्टिकोण मात्र पर्याप्त नभई विषय विज्ञ, आम जनसमुदायहरूको परामर्श र दृष्टिकोण समेत आवश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनको अवधिमा हुने बहुआयामिक छलफल, अनुभवको आदानप्रदान, बौद्धिक तथा तार्किक बहस, विचार, विमर्श तथा राय सुझावले नेपाल प्रहरीको दीर्घकालीन योजना, रणनीतिक लक्ष्य र समय सापेक्ष कार्ययोजना निर्माणमा मूर्त आधार तयार गरी नेपाल प्रहरीको रणनीतिक योजना र कार्ययोजनाहरू निर्माणमा स्पष्ट मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । समारोहमा नेपाल प्रहरी रणनीतिक सम्मेलन संयोजन तथा व्यवस्थापन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य तथा सम्मेलन सम्बन्धी जानकारी दिनुभएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।     दुई दिवसीय उक्त सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय : क्षेत्र, विद्यमान अवस्था र सुधारका उपायहरू, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू : पहिचान, रोकथाम र अनुसन्धानका प्रहरी रणनीतिहरू, विरोध प्रदर्शन व्यवस्थापन : नागरिकको संवैधानिक अधिकारको संरक्षण र राज्यको अनिवार्य दायित्व निर्वाहको सन्दर्भमा प्रहरी परिचालन र शान्ति सुव्यवस्थाको दृष्टिकोण, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन : दक्ष, उच्च मनोबल र उत्प्रेरित जनशक्ति सुनिश्चित गर्ने रणनीतिहरू, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता : सेवा प्रवाह, आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र अपराध अनुसन्धानमा सम्भावना र चुनौतीहरू, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी : क्षमता अभिवृद्धि, समन्वय, समुदाय सहकार्य र भावी आवश्यकताहरू एवम् सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका : सचेतना, प्रवर्तन र क्षति न्यूनीकरणको योजना सम्बन्धी विषयहरूमा वृहत रूपमा छलफल एवम् अन्तरक्रिया हुनेछ ।     

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८२-१०-१९

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १४औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमका क्रममा विकसित सामुहिक भावना, निर्णय क्षमताको विकास र संकटको सामना गर्ने अभ्यास पेशागत जीवनका आधार स्तम्भ भएको चर्चा गर्दै कुशल नेतृत्व क्षमता एवम् जिम्मेवारीबोध गराउँदै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम बनाउने समेत उहाँले बताउनुभयो ।  नेपाल प्रहरी मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘एक जिम्मेवार प्रहरी अधिकृतको हैसियतले तपाईहरू आज राज्य र नागरिक बिचको पहिलो सम्पर्क बिन्दु बन्नुहुनेछ । नागरिकले आफ्नो सरकार तपाईको व्यवहार र आचरणमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्य प्रतिको धारणा जनताले बनाउनेछन् । त्यसैले तपाईहरूले सधै सम्झिदिनु होला कानुन भन्दा माथि कोहि छैन तर कानुन कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरूमा शिष्टता र मानवताको भावना पनि हुनुपर्छ । कानुनको सही कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान स्पष्ट र व्यावसायिक हुन्छ । दुखी गरिब र कमजोरको आवाज सुन्ने, निमुखाको भावना बुझ्ने तथा पद, प्रभाव, लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरूदण्ड हो ।’ परम्परागत अपराध सहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्दका नयाँ आयामहरू देखा परिरहेका र यस्तो अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सिमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने चर्चा गर्दै सही निर्णय गर्दा हुनसक्ने आलोचना र धम्कीबाट नडराई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै समय अनुसार विकसित र सुदृढ प्रहरी नै राज्यको अपेक्षा र चाहना रहेकोले यसको निरन्तर सुधार र विकासको लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रको आन्तरिक सुरक्षा जस्तो गहन जिम्मेवारी वहन गरेको नेपाल प्रहरीको काँधमा कानुन कार्यान्वयन, अपराध नियन्त्रण र अनुसन्धान, मानव अधिकारको संरक्षण, विपद व्यवस्थापन जस्ता संवेदनशील दायित्वहरू रहेको बताउनुभयो । आज दीक्षित हुने प्रहरी अधिकृतहरू अब केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानुनको संरक्षक र जनविश्वासका वाहक भएको बताउनुभयो । अपराधका स्वरूप जटिल बन्दै चुनौतीहरू बढिरहेको अहिलेको अवस्थामा पुरानो सोच र पुराना विधिबाट मात्र नयाँ समस्या समाधान नहुने हुँदा त्यसता समस्यालाई फरक ढंगबाट बुझेर सोही अनुरूप समाधान गर्नुपर्ने एवम् कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको पनि आवश्यकता रहने उहाँले बताउनुभयो । आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी पूर्ण रूपमा तटस्थ, व्यावसायिक र कानुन अनुसार परिचालित भई विगतमा जस्तै यस पटकको निर्वाचन पनि सफलता पुर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाई अनि चुनौतीहरू पार गर्दै झन्डै १९ महिना पश्चात आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै सफल एवम् उपलब्धीपूर्ण सेवाकालको लागि शुभकामना सहित पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । प्रहरी आम नागरिकले सुखमा भन्दा दुखमा, हर्षमा भन्दा पिडामा, कुनै पनि आपतविपत र समस्या पर्दा तत्काल सम्झिने नागरिकका दैनिक कार्यसँग अन्योन्याश्रित रहेको निकाय भएको र यो संगठनको सदस्य हुन पाउनुमा जति गर्व र सम्मान जोडिएको छ यो सँगै गाँसिएर आउने जिम्मेवारी र चुनौतीहरूका दायराहरू पनि त्यत्तिकै बृहत्त हुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या, पिडा र दुख राज्यको सम्बन्धित निकाय सम्म पुर्‍याइदिने संवाहक तथा राज्य उनीहरू सँगै रहेको अनुभूति दिलाउन सक्ने प्रतिनिधि पनि प्रहरी भएको चर्चा गर्दै नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रथम पंक्तिमा उभिएर आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । सात दशकको इतिहास बोकेको नेपाल प्रहरीले अनेकौं उतारचढाव वाबजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत रूपमा समर्पित रहेको उहाँले उल्लेख गर्नुभयो । समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ साउन २१ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्री ज्यूका मुख्य सल्लाहकार, प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न
२०८२-१०-०७

काठमाडौं, निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।  कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवम् सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।  कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  

गृहसचिव राजकुमार श्रेष्ठबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८२-१०-०४

काठमाडौं, गृहसचिव राजकुमार श्रेष्ठले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव राजकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । कार्यक्रममा गृहसचिव श्रेष्ठले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै कर्तव्य पालनका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । विभिन्न कालखण्डहरू पार गर्दै नेपाल प्रहरीलाई विद्यमान अवस्थासम्म ल्याईपुर्‍याउन विभिन्न भूमिकामा रहेर महत्वपूर्ण योगदान दिनुहुने प्रहरी कर्मचारीहरूको योगदानको प्रशंसा उहाँले गर्नुभयो ।  गृहसचिव श्रेष्ठले नेपाल प्रहरीले स्रोतसाधनको सीमितता र चुनौतीहरूको बावजुद अपराधको नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो । नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव श्रेष्ठले आसन्न निर्वाचनलाई सफल बनाउनको निम्ति सबैको सत्‌प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकायहरूबीच उच्च समन्वय तथा सहकार्य गरी योजनाबद्ध ढंगले कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी संगठनले गरेको अपेक्षा र आवश्यक स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनलाई संगठनले पूर्णरूपमा कार्यक्षेत्रमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको उहाँले   बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृह सचिवज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव श्रेष्ठ समक्ष नेपाल प्रहरीका सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, आसन्न निर्वाचन सुरक्षा, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-३०

धनुषा, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय मधेश  प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ जनकपुरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । जस्तोसुकै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार सदैव कटिबद्ध रहेको बताउँदै नागरिकसँगको समन्वय तथा सहकार्यमा अपराध तथा हिंसा नियन्त्रण गरी जनसमुदायमा सुदृढ सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।    गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थापननै सुशासन, समृद्धि र विकासको आधार भएको चर्चा गर्दै प्रदेशमा चुनौतीको रूपमा रहेको खुला सिमाना, लागूऔषध ओसारपसार, सडक दुर्घटना लगायतका अपराध नियन्त्रणको लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुरक्षा सम्बन्धि बहुआयामिक विषयहरूमा केन्द्रित यस गोष्ठीबाट भएको मार्गनिर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदशको सुरक्षा अवस्था र सुरक्षा चुनौति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा  गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-२५

ललितपुर, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच एकदिवसीय बागमती  प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ ललितपुरको हरिहरभवनमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै विगतमा भएका कमि कमजोरीलाई सुधार गरी नागरिकसँग सहकार्य गर्दै सुदृढ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सुरक्षा निकायहरूको मनोबल बढाउने कार्यमा समेत नेपाल सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा देखिएका सुरक्षा चुनौतिहरूको सम्बोधनको लागि यस गोष्ठी फलदायी हुने बताउनुभयो । सूचना संकलन तथा विश्लेषणलाई थप प्रभावकारी बनाउँदै समग्र प्रदेशको शान्ति सुरक्षा कायम गर्न आवश्यक सुरक्षा योजना अवलम्बन गरी अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो । नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाहीले बागमती प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा बागमती प्रदेश अन्तर्गत १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।