प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ४ जना पक्राउ

२०७८-१०-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटारस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका कर्मचारी ललितपुर ग्वार्को बस्ने धनुषा बिदेह नगरपालिका-४ घर भएका २५ वर्षीय रोशन कुमार छिट्टान र सोही हस्पिटलका ल्याब प्रबन्धक भक्तपुर कौशलटार बस्ने सर्लाही बलरा नगरपालिका-७ घर भएका २४ वर्षीय प्रसन्न कुमार झा तथा काठमाडौं तीनकुनेस्थित कान्तिपुर अस्पताल प्रालिका कर्मचारीहरू काठमाडौं गौशाला बस्ने धनुषा छिरेश्वर नगरपालिका-१ घर भएका २५ वर्षीय नागेन्द्र यादव र भक्तपुर सूर्यबिनायक नगरपालिका-५ सल्लाघारी बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-५ घर भएका २९ वर्षीय माधव मैनाली रहेका छन् ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट ती दुई अस्पतालबाट नेपाल सरकारले तोकेभन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनासमेत नलिई नक्कली रिपोर्ट बनाइदिने गरेको भन्ने सूचनाको आधारमा उक्त महाशाखाबाट खटिएको प्रहरीले रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ हस्पिटलबाट जारी भएका ८ थान नक्कली पिसिआर रिपोर्टसहित एयरपोर्ट अगाडिबाट र प्रसन्न कुमारलाई सोही हस्पिटलबाट तथा कान्तिपुर अस्पतालका नागेन्द्र कुमारलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडिबाट र माधव मैनालीलाई सोही अस्पतालबाट पक्राउ गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधि समेतको रोहबारमा प्रहरीले दुवै अस्पतालका ल्याबबाट पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण, पिसिआर टेष्ट दर्ता रजिष्टर, नक्कली पिसिआर रिपोर्ट र रसिद प्याडहरू समेत बरामद गरेको छ । साथै दुवै अस्पतालका पिसिआर ल्याबहरू सिल गरी पिसिआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ ।

उक्त अस्पतालले व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको, ल्याबमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको, पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरूको सिटिभ्यालु तथा मिति तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ती अस्पतालहरूले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनि परिचयपत्र बनाई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको, सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरूले आफैले आफ्नै स्वाव संकलन गरी बिभिन्न व्यक्तिका नाममा ल्याबमा स्वाब दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको, बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरूलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने भनि प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म असुल गर्ने गरेको तथा क्यूआर कोडबाट स्क्यान गरी हेर्न मिल्ने गरी सक्कली जस्तै रिपोर्ट बनाउने गरेको खुल्न आएको छ ।

हाल फरार दुवै अस्पतालका ल्याबका सञ्चालकहरू तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।




सम्बन्धित समाचार
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने चितवन माडी नगरपालिका-५ घर भएका ५० वर्षीय ज्ञानराज सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । ज्ञानराजले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नगरपालिका-९ गोंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने भक्तपुर मध्यपुर थिमि नगरपालिका-८ घर भएकी ३० वर्षीया उजुना श्रेष्ठ र ललितपुर टिकाथली बस्ने कञ्चनपुर बेलौरी नगरपालिका-२ घर भएका ४८ वर्षीय मान बहादुर रिसाल रहेका छन् ।पक्राउ मध्ये उजुनाले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट १० लाख रूपैयाँ र मान बहादुरले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उजुनालाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार र मान बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।