प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

२०८२-०६-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३१ असोज, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले विशेष बढुवा प्राप्त गर्नुहुने प्रहरी वृत्त महाराजगंज काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक हेम बहादुर बिक र जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ दाङमा कार्यरत प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिन्हद्वार सुशोभित गर्नुभयो । राष्ट्र र प्रहरी संगठनको मान, प्रतिष्ठा र गौरव बढाउनुका साथै कर्तव्य निर्वाहको क्रममा प्रदर्शन गरेको अदम्य साहस र उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गरी नीति निर्माण समितिको सिफारिसमा उनीहरूलाई १ तह विशेष बढुवा सिफारिस गरिएको थियो । साथै उहाँले प्रथम महिला प्रहरी सम्मेलन,२०८२ को सन्दर्भमा प्रकाशित " Coffee Table Book " को लोकार्पण समेत गर्नुभयो । 

सोही अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी निरीक्षक प्रकाश थापा, प्रहरी निरीक्षक अच्युत गिरी, प्रहरी निरीक्षक रबि घिमिरे, प्रहरी निरीक्षक सरस्वती कार्की, प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ आचार्य, प्रहरी वरिष्ठ नायव निरीक्षक रमेश कार्की, प्रहरी नायव निरीक्षक पदम शेर्पा, प्रहरी सहायक निरीक्षक अमिर श्रेष्ठ र प्रहरी सहायक हवल्दार कुमार बस्नेतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक राजेश सिलवाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी नायव निरीक्षक अशोक कार्की, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ र प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर खड्का तथा उत्कृष्ट व्यावसायिक आचरणतर्फ प्रहरी उपरीक्षक बासुदेव पाठकलाई प्रशंसापत्र प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक संजीब बोगटी, प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेल, प्रहरी सहायक निरीक्षक दिपक पुन, प्रहरी हवल्दार अख्तर मिया र प्रहरी जवान रोशना थापा, उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक मधु कुमार थापा, प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक शेर बहादुर बस्नेत, प्रहरी निरीक्षक अजय जंग थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक विजय राज खनाल, प्रहरी नायव निरीक्षक गौरव कुमार दास र प्रहरी सहायक हवल्दार दिपक राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी निरीक्षक जमुना जोशी, प्रहरी जवान गणेश राना मगर र प्रहरी जवान दुर्गा थापा, उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्त, प्रहरी उपरीक्षक हरि डंगोल, प्रहरी नायव उपरीक्षक मोहन सिंह धामी, प्रहरी निरीक्षक ई. रितोष राय, प्रहरी वरिष्ठ नायव निरीक्षक शान्ति शाक्य, प्रहरी नायव निरीक्षक सन्तोष लामा, प्रहरी सहायक निरीक्षक राम बहादुर परियार(दमाई), प्रहरी सहायक निरीक्षक विद्या घले, प्रहरी हवल्दार भरत कुँवर र प्रहरी सहायक हवल्दार सुजन कार्कीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी  उत्कृष्ट प्रहरी खेल प्रशिक्षक/खेलाडी पुरस्कारतर्फ प्रहरी जवान शान्तिकला तामाङ, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय धरान सुनसरीमा कार्यरत सागर कार्कीलाई सम्मानपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका २ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो । 

यसैगरी प्रहरी महानिरीक्षक खापुङ्ले  नेपाल प्रहरीको काम, कारवाही तथा अनुसन्धानमा सहयोग पुर्‍याउनुहुने काठमाडौं नरेफाँटका द्रोणजंग श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ भक्तपुर गठ्ठाघरका राजेश मान केसी र प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने मोरङ विराटनगर महानगरपालिका-६ का तोरण कार्की र धनकुटा पाख्रिवास-८ का समन्त भद्र थापालाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारणलाई समेत कदरपत्र प्रदान गर्नुभयो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखि नै कानुनी राज्यको मान्यता अनुरूप जनमुखी प्रहरी सेवाको प्रवर्धन गर्दै आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहँदै आएको बताउनुभयो । प्रहरी संगठन प्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा शक्ति र मनोबल समेतको स्रोत भएको चर्चा गर्दै नागरिक केन्द्रीत पारदर्शी, स्वच्छ, छिटो, छरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा प्रवाहबाट मात्र प्रहरी प्रतिको विश्वासमा अभिवृद्धि सम्भव रहेको हुँदा उहाँहरुको गुनासो र पिरमर्का सम्बोधनमा कुनै किसिमको विलम्ब नहोस् भन्नेतर्फ संगठनका सबै सदस्यहरू सजग हुनुपर्नेमा जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरी प्रतिको नागरिकको विश्वास र स्नेह प्रगाढ रहेको तथ्य नेपाल प्रहरीको भौतिक विकासमा आम जनसमुदायबाट प्राप्त भएको सहयोगले पुष्टि गरेको चर्चा गर्दै यो स्नेह, विश्वास र भरोसाको जगेर्ना गर्दै सबै प्रहरी कर्मचारीहरू नागरिकमैत्री सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । साथै प्रचलित कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र सम्बर्द्धनलाई उच्च प्राथमिकतामा राखी आम नागरिकका संविधान प्रदत्त हक अधिकारको संरक्षणमा सदैव सचेत रहन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

सम्बन्धित समाचार
लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सबैको सामूहिक प्रयास आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले लैङ्गिक हिंसा न्यूनीकरण सम्बोधनको लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।  प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा र लैङ्गिक हिंसा रहित प्रविधि, सुरक्षा र न्यायको विधि भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा आइतबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आर्थिक वर्ष २०८१/०८२ को लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्र सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले लैङ्गिक हिंसा न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने उल्लेख गर्दै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो । लैङ्गिक हिंसा न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग सहकार्य र समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान केवल एउटा अभियान वा अवधिमा सीमित नरही वर्षभरी उत्तिकै उर्जाका साथ सम्बन्धीत सबै निकायहरूले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रले लैङ्गिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै निकायहरूबाट सम्पादन भएका काम कारबाहीहरूलाई समेटेको चर्चा गर्दै यस तथ्यपत्रले महिला बालबालिका तथा जेष्ठ नागरिकको हितमा कार्यरत समस्त नेपाल प्रहरीका सकल दर्जाको सदैव प्रतिबद्धता रहेको र आगामी दिनमा लैङ्गिक हिंसा न्यूनीकरणमा समेत मार्गदर्शन गर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले पछिल्लो समय एआइको विकास र प्रविधिको प्रयोगले हिंसा न्यूनीकरणमा थप चुनौती देखा परेको उल्लेख गर्दै नेपाल प्रहरीले लैङ्गिक समानता र महिला सुरक्षा प्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी विभिन्न संघसंस्थाहरू, शैक्षिक संस्थाहरु, स्थानीय तह र महिला संजालहरूसँग समेत समन्वय गरी हिंसा विरूद्धका सचेतनामुलक कार्यक्रम संचालनलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो । लैङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा गृहमन्त्रालयका उपसचिव मिना अर्याल, राष्ट्रिय महिला आयोगका उपसचिव रोसनी देवी कार्की, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई, युनिसेफ नेपाल चिफ अफ चाइल्ड प्रोटेक्सन Leon Muwoni र स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका उपसचिव कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको  थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले लैङ्गिक हिंसा नियन्त्रण: तथ्यमा वर्तमान अवस्था, विश्लेषण, प्रमुख चुनौती र भावी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०८-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहनुभएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूका धर्मपत्नी एवम् परिवारजनहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । जेष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकोले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको चर्चा गर्दै निस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताउनुभयो । प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।  

अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउँदै कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।  प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन एवम् व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्ने बताउँदै आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्न समेत उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८२-०८-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच अपराध अनुसन्धान सम्बन्धी एकदिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ  । अपराध अनुसन्धान विभागको ७०औं स्थापना दिवस, २०८२ को अवसरमा उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहलाई सम्मान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान विभागद्वारा प्राकाशित CID Magazine, 2082 को विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस अन्तरक्रिया कार्यक्रममा सबैको सक्रियतापूर्ण सहभागिताले अपराध अनुसन्धान सम्बन्धी समसामयिक पक्षहरू, अपराधका प्रकृतिहरू, प्रहरी क्रियाशीलता र प्रविधिको विधि सम्मत प्रयोग, कानून कार्यान्वयनका नवीन तौरतरिका समेतका विषयमा गहिरो विचार विमर्श गरी अपराध अनुसन्धानको मूल दायित्व बोकेको नेपाल प्रहरीलाई मार्गनिर्देश गर्न महत्वपूर्ण एवम् प्रभावकारी हुने विश्वास लिएको बताउनुभयो । अन्तरक्रिया तथा छलफल कार्यक्रममा समसामयिक आपराधिक घटनाहरूको अध्ययन विश्लेषणका साथै विद्युतीय र आर्थिक अपराधका घटनाहरूको तुलनात्मक अध्ययन विश्लेषण र आगामी दिनमा बढ्न सक्ने अपराधका संभावित घटनाहरू विश्लेषण समेतमा गहिरो छलफल हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सामाजिक संजालको दुरूपयोगले सामाजिक सुरक्षा व्यवस्थामा चुनौति बढिरहेको उल्लेख गर्दै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा संगठित अपराधहरूका अनुसन्धानमा समेत क्षमता विकासको उत्तिकै आवश्यकता रहेको बताउनुभयो । फैसला कार्यान्वयन र फरार प्रतिवादीहरूको खोजतलास र पक्राउलाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न एवम् विगतमा घटेका अपराधका घटनाहरू तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित सबै अपराध अनुसन्धान क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुन विपरित कार्य गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा प्रहरी प्रतिको प्रतिष्ठा एवम् विश्वास समेत अभिवृद्धि गर्ने उल्लेख गर्दै सूचना संकलन एवम् विश्लेषण गरी संभावित अपराधको नियन्त्रण तथा घटित अपराधको अनुसन्धान गर्न र कानुन कार्यान्वयनको माध्यमले कानुनी शासनको प्रत्याभूति गर्ने हुनाले सबै प्रहरी कर्मचारीहरूको थप क्रियाशीलता जरूरी रहेको बताउनुभयो । अदालतले सजाय तोकेका कसुरदारहरू समाजमा खुलेआम हिड्ने अवस्था भयो भने समाजमा त्रासको अवस्था सिर्जना भइराख्ने र कानुन कार्यान्वयनले त्यस्तो अवस्थालाई अन्त्य गर्ने चर्चा गर्दै हालसम्म भएका असल अभ्यासहरूको पहिचान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी, वैज्ञानिक एवम् पारदर्शी बनाउन आवश्यक रणनीतिहरू र कानुनी सुधारको विषयहरूमा समेत यस अन्तरक्रिया केन्द्रित हुनेछ भन्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।   नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अपराध अनुसन्धान विभागका पूर्व प्रमुख एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाह र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराई लगायतले आ-आफ्नो अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक बासुदेव पाठकले विभागीय गतिविधि सम्बन्धी संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्थामा, चुनौति र समाधानका उपायहरू लगायतका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अपराध अनुसन्धान विभागका पूर्व प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ % ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो । साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम रू. १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०७-२७

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्‍वर दंगालले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव रामेश्‍वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्यपरायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताउनुभयो । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्दछु । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । गुल्मी जिल्लाको साविक घमिर-५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड गर्नुभएका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत गर्नुभएको थियो ।