अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८२-०७-०७
- A
- A-
- A+
मोरङ, उर्लावारी नगरपालिका-७ डेरा गरी बस्ने झापा गौरदह नगरपलिका-६ घर भएका ४३ वर्षीय मोहनसिंह बरहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ८ सय ९० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-३ तमौलीपुर बस्ने २४ वर्षीय आसबिक थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-३ बस्ने ३५ वर्षीय मो. अजमल मिकरानी र ६० वर्षीय मो. एजाजुल हक मिकरानी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बिआर ३० ए एल ४७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।