अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०७-२१
- A
- A-
- A+
उदयपुर, कटारी नगरपालिका-४ सुनकोशी पेट्रोल पम्प छेउबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १३ ट्याब्लेट, स्पास्पेन १ सय ६ ट्याब्लेट र नगद १ हजार ३ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ३१ वर्षीय जित बहादुर थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१० बस्ने २२ वर्षीय रोहित कटुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरेबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८४ एम्पुल, फेनारगन ८५ एम्पुल र आइपिपिएल ८६ एम्पुल सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दरबजार नगरपालिका-९ बस्ने २५ वर्षीय मिन प्रसाद गुरूङ र ३१ वर्षीय सागर गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बर्दघाटबाट दुम्किबासतर्फ आउँदै गरेको ग.२० प ७६६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने ३० वर्षीय असिम थापा र २७ वर्षीय सविन मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७२६ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।