युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०७-२९
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका-१३ बस्ने प्युठान गौमुखी गाउँपालिका-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन् ।
पक्राउ मध्ये मनोहरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र मेघराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई काठमाडौं महानगरपालिका-१० बाट बिहीबार र मेघराजलाई काठमाडौं महानगरपालिका-२९ बाट शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।