अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०९-०३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ सय एम्पुल, फेनारगन ७ सय एम्पुल र नोर्फिन ७ सय एम्पुल सहित रौतहट गुजरा नगरपालिका-३ बस्ने २४ वर्षीय शेख मोसिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम र नगद ९ हजार १ सय १५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २० वर्षीय शिबु चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३२ बेलवामा बस्ने ६५ वर्षीय समसुदिन मियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नयाँबस्तीबाट अमलेखगंज बजारतर्फ आउँदै गरेको म.प्र ०३-००१ ह २५८२ नम्बरको अटोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।