आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०९-०३
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई.हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई.केविन जंग थापा, ई.रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहनुभएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । प्रहरी संगठनमा प्राविधिक समूहतर्फ रही व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा अझै उत्प्रेरित भई आफ्नो लगन र निष्ठालाई अक्षुण्ण राखी संगठनात्मक गतिशीलतामा थप योगदान पुर्याउन उहाँले निर्देशन समेत दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो बोली, वचन र व्यवहारलाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै नागरिकका समस्यालाई सम्बोधन गर्दै आफुलाई प्राप्त जिम्मेवारी उच्च मनोबल, सामूहिक भावना, सकारात्मक सोच एवम् इमानदारीपूर्वक सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आसन्न निर्वाचनलाई मध्यनजर गरी देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय एवम् सहकार्य गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न समेत उहाँले बताउनुभयो ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोलले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।