वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०९-०४
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएका ५४ वर्षीय पबित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर षडानन्द नगरपालिका-१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भएका २५ वर्षीय साईरज सुबेदी रहेका छन् ।
पक्राउ मध्ये पबित्रले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख रूपैयाँ र साईरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख १४ हजार ५ सय रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पबित्र र बबितालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा साईरजलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।