अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०४
- A
- A-
- A+
सिराहा, धनगढीमाई नगरपालिका-८ कसहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका-६ रातामाटा घर भएका ३४ वर्षीय सुशिल अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले ज.१ ह ३९३० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक देवराज र अटोमा सवार सुशिललाई पक्राउ गरेको हो ।
उदयपुर, वेलका नगरपालिका-९ रामपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्राम सहित त्रियुगा नगरपालिका-७ खारखोला बस्ने २२ वर्षीय रेमन मग्रातीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले विराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ००६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक रेमनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, प्रोमेथाजाइन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३५ वर्षीय खगेन्द्र बहादुर मिदुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जादै गरेको ना.५ ख १७६५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।