प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

२०८२-०९-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री अर्यालले देशमा शान्ति सुव्यवस्था कायम गर्ने र विधिको शासनको पालना गर्दै सुदृढ सेवा प्रवाह गर्नुनै वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताउनुभयो । साथै स्वतन्त्र र निष्पक्ष वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा योजना एवम् रणनीति अवलम्बन गरी देखा परेका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ गर्दै कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र कर्णाली प्रदशका प्रमुख सचिव बिरेन्द्र कुमार यादवले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था, प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी त्यसको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न यो सुरक्षा गोष्ठी महत्वपूर्ण एवम् उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । प्रभावकारी कानुन कार्यान्वयन सुशासन एवम् समृद्धिको आधार भएको चर्चा गर्दै कानुन विपरितका क्रियाकलापहरूलाई कानुनी दायरामा ल्याउन सबैको प्रयत्न आवश्यक रहेको र यस गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणले सुरक्षा निकाय एवम् अन्य सरोकारवाला निकायबीच सामूहिक भावना तथा ऐक्यबद्धताका साथ अगाडि बढ्न सहयोग पुर्‍याउने बताउनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सम्बन्धी बहुआयामिक विषयहरूमा केन्द्रित यस महत्वपूर्ण छलफलबाट प्राप्त भएको मार्गनिर्देशनको उच्च प्रयोग गर्दै प्रदेश अन्तर्गतको सुरक्षा व्यवस्थापन थप मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । 

नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेलेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । 

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार
प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न
२०८२-१०-१९

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १४औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री कार्कीले तालिममा सर्वप्रथम एवम् शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय “कुलानन्द विद्या सर्वप्रथम पुरस्कार” प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक तारा बहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेश प्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नविन कुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन परिश्रम, अनुशासन र समर्पण भावका साथ प्रहरी निरीक्षक आधारभूत तालिम सफलतापुर्वक सम्पन्न गरी दीक्षित हुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । तालिमका क्रममा विकसित सामुहिक भावना, निर्णय क्षमताको विकास र संकटको सामना गर्ने अभ्यास पेशागत जीवनका आधार स्तम्भ भएको चर्चा गर्दै कुशल नेतृत्व क्षमता एवम् जिम्मेवारीबोध गराउँदै आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्षम बनाउने समेत उहाँले बताउनुभयो ।  नेपाल प्रहरी मुलुकको कानुन कार्यान्वयन गर्ने एक प्रमुख संस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘एक जिम्मेवार प्रहरी अधिकृतको हैसियतले तपाईहरू आज राज्य र नागरिक बिचको पहिलो सम्पर्क बिन्दु बन्नुहुनेछ । नागरिकले आफ्नो सरकार तपाईको व्यवहार र आचरणमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्य प्रतिको धारणा जनताले बनाउनेछन् । त्यसैले तपाईहरूले सधै सम्झिदिनु होला कानुन भन्दा माथि कोहि छैन तर कानुन कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरूमा शिष्टता र मानवताको भावना पनि हुनुपर्छ । कानुनको सही कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान स्पष्ट र व्यावसायिक हुन्छ । दुखी गरिब र कमजोरको आवाज सुन्ने, निमुखाको भावना बुझ्ने तथा पद, प्रभाव, लोभ र दबाबमा नझुक्ने, सत्यको पक्षमा दृढ रहन सक्ने प्रहरी नै न्याय प्रणालीको मेरूदण्ड हो ।’ परम्परागत अपराध सहित साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्दका नयाँ आयामहरू देखा परिरहेका र यस्तो अवस्थामा प्रहरीको भूमिका केवल आदेश पालनामा मात्रै सिमित नरही एक विश्लेषक र समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चित गर्नु राज्यको दायित्व भएको र यस दायित्वमा नेपाल प्रहरीको भूमिका अत्यन्त संवेदनशील रहने उल्लेख गर्दै कुनै राजनीतिक प्रभाव, पूर्वाग्रहबाट माथि उठेर कानुनको मर्म अनुसार सबै प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । कठिन परिस्थितिमा पनि संवेग, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने नै सक्षम प्रहरी हुने चर्चा गर्दै सही निर्णय गर्दा हुनसक्ने आलोचना र धम्कीबाट नडराई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै समय अनुसार विकसित र सुदृढ प्रहरी नै राज्यको अपेक्षा र चाहना रहेकोले यसको निरन्तर सुधार र विकासको लागि नेपाल सरकार सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रको आन्तरिक सुरक्षा जस्तो गहन जिम्मेवारी वहन गरेको नेपाल प्रहरीको काँधमा कानुन कार्यान्वयन, अपराध नियन्त्रण र अनुसन्धान, मानव अधिकारको संरक्षण, विपद व्यवस्थापन जस्ता संवेदनशील दायित्वहरू रहेको बताउनुभयो । आज दीक्षित हुने प्रहरी अधिकृतहरू अब केवल निलो बर्दीधारी मात्र नभई राज्यको प्रतिनिधि, कानुनको संरक्षक र जनविश्वासका वाहक भएको बताउनुभयो । अपराधका स्वरूप जटिल बन्दै चुनौतीहरू बढिरहेको अहिलेको अवस्थामा पुरानो सोच र पुराना विधिबाट मात्र नयाँ समस्या समाधान नहुने हुँदा त्यसता समस्यालाई फरक ढंगबाट बुझेर सोही अनुरूप समाधान गर्नुपर्ने एवम् कानुनको गहिरो ज्ञानसँगै विवेक, संयमता, नैतिकता र व्यावसायिक निर्णय क्षमताको पनि आवश्यकता रहने उहाँले बताउनुभयो । आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त र विश्वसनीय तवरबाट सम्पन्न गराउन नेपाल प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी पूर्ण रूपमा तटस्थ, व्यावसायिक र कानुन अनुसार परिचालित भई विगतमा जस्तै यस पटकको निर्वाचन पनि सफलता पुर्वक सम्पन्न गरेर आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाई अनि चुनौतीहरू पार गर्दै झन्डै १९ महिना पश्चात आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै सफल एवम् उपलब्धीपूर्ण सेवाकालको लागि शुभकामना सहित पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी संगठनमा स्वागत समेत गर्नुभयो । प्रहरी आम नागरिकले सुखमा भन्दा दुखमा, हर्षमा भन्दा पिडामा, कुनै पनि आपतविपत र समस्या पर्दा तत्काल सम्झिने नागरिकका दैनिक कार्यसँग अन्योन्याश्रित रहेको निकाय भएको र यो संगठनको सदस्य हुन पाउनुमा जति गर्व र सम्मान जोडिएको छ यो सँगै गाँसिएर आउने जिम्मेवारी र चुनौतीहरूका दायराहरू पनि त्यत्तिकै बृहत्त हुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या, पिडा र दुख राज्यको सम्बन्धित निकाय सम्म पुर्‍याइदिने संवाहक तथा राज्य उनीहरू सँगै रहेको अनुभूति दिलाउन सक्ने प्रतिनिधि पनि प्रहरी भएको चर्चा गर्दै नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रथम पंक्तिमा उभिएर आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । सात दशकको इतिहास बोकेको नेपाल प्रहरीले अनेकौं उतारचढाव वाबजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत रूपमा समर्पित रहेको उहाँले उल्लेख गर्नुभयो । समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ साउन २१ गतेबाट शुरू भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको जानकारी दिनुभयो ।प्रशिक्षार्थीहरूले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा सांगितिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।दीक्षान्त समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी, प्रधानमन्त्री ज्यूका मुख्य सल्लाहकार, प्रधानमन्त्री ज्यूका प्रेस सल्लाहकार, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्व प्रहरी महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू, संचारकर्मीहरू, प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न
२०८२-१०-०७

काठमाडौं, निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।  कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवम् सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।  कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  

गृहसचिव राजकुमार श्रेष्ठबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८२-१०-०४

काठमाडौं, गृहसचिव राजकुमार श्रेष्ठले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव राजकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । कार्यक्रममा गृहसचिव श्रेष्ठले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै कर्तव्य पालनका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । विभिन्न कालखण्डहरू पार गर्दै नेपाल प्रहरीलाई विद्यमान अवस्थासम्म ल्याईपुर्‍याउन विभिन्न भूमिकामा रहेर महत्वपूर्ण योगदान दिनुहुने प्रहरी कर्मचारीहरूको योगदानको प्रशंसा उहाँले गर्नुभयो ।  गृहसचिव श्रेष्ठले नेपाल प्रहरीले स्रोतसाधनको सीमितता र चुनौतीहरूको बावजुद अपराधको नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो । नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव श्रेष्ठले आसन्न निर्वाचनलाई सफल बनाउनको निम्ति सबैको सत्‌प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकायहरूबीच उच्च समन्वय तथा सहकार्य गरी योजनाबद्ध ढंगले कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी संगठनले गरेको अपेक्षा र आवश्यक स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनलाई संगठनले पूर्णरूपमा कार्यक्षेत्रमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको उहाँले   बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृह सचिवज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव श्रेष्ठ समक्ष नेपाल प्रहरीका सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, आसन्न निर्वाचन सुरक्षा, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-३०

धनुषा, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय मधेश  प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ जनकपुरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । जस्तोसुकै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार सदैव कटिबद्ध रहेको बताउँदै नागरिकसँगको समन्वय तथा सहकार्यमा अपराध तथा हिंसा नियन्त्रण गरी जनसमुदायमा सुदृढ सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।    गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थापननै सुशासन, समृद्धि र विकासको आधार भएको चर्चा गर्दै प्रदेशमा चुनौतीको रूपमा रहेको खुला सिमाना, लागूऔषध ओसारपसार, सडक दुर्घटना लगायतका अपराध नियन्त्रणको लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुरक्षा सम्बन्धि बहुआयामिक विषयहरूमा केन्द्रित यस गोष्ठीबाट भएको मार्गनिर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदशको सुरक्षा अवस्था र सुरक्षा चुनौति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा  गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-२५

ललितपुर, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच एकदिवसीय बागमती  प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ ललितपुरको हरिहरभवनमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै विगतमा भएका कमि कमजोरीलाई सुधार गरी नागरिकसँग सहकार्य गर्दै सुदृढ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सुरक्षा निकायहरूको मनोबल बढाउने कार्यमा समेत नेपाल सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा देखिएका सुरक्षा चुनौतिहरूको सम्बोधनको लागि यस गोष्ठी फलदायी हुने बताउनुभयो । सूचना संकलन तथा विश्लेषणलाई थप प्रभावकारी बनाउँदै समग्र प्रदेशको शान्ति सुरक्षा कायम गर्न आवश्यक सुरक्षा योजना अवलम्बन गरी अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो । नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाहीले बागमती प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा बागमती प्रदेश अन्तर्गत १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-१६

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न प्रदेशस्तरीय गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । सुरक्षा निकायको मनोबल बढाउने कार्यमा नेपाल सरकार सदैव क्रियाशील रहेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्न सुरक्षा केन्द्रित गोष्ठीले उल्लेखनीय भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मेवार निकायहरूले आ-आफ्नो क्षेत्रमा सक्रिय भई जिम्मेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउँदै कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसन ठूलो समस्याको रूपमा रहेकोले यसलाई नियन्त्रण गर्न विशेष अभियानका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कोशी प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा आसन्न निर्वाचनलाई सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आ-आफ्नो दायित्व बोधबाट मात्र सम्भव हुने चर्चा गर्दै सवारी दुर्घटना न्यूनीकरण, खुल्ला सिमानाको कारण हुने चोरी तस्करी, राजस्व चुहावट, अखाद्य बस्तु विक्रीवितरण, कालोबजारी एवम् गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव नारायण प्रसाद रिसालले कोशी प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य सहित सुरक्षा गोष्ठीको उद्देश्यका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।