अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
काठमाडौं, १५ पुस
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब १२ किलो ७ सय ५० ग्राम सहित भारतीय नागरिक ३१ वर्षीय NIYAJ सोमबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र भन्सार कार्यालय समेतबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बडराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय मनोज राना समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.५ प ३५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका-८ सत्तीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित बर्दगोरिया गाउँपालिका-५ बस्ने ३६ वर्षीय दिवाकर रैसाललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले सु.प.प्र. ०२-००४ प १९८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-१० धुलाबारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने ४३ वर्षीय रूपेन राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग ना.४ प ३० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ पबित्रबस्ती डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-७ भाँडी घर भएका २९ वर्षीय कर्ण बहादुर बोहरालाई अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरिया समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।