अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०९-१८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सगरमाथा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४६ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भएका ३२ वर्षीय विशाल राई र सुनसरी कोशी गाउँपालिका-२ घर भएका २४ वर्षीय दयानन्द यादव रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बर कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३७ वर्षीय रफिक खानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भे.११ प ३६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरी र सोही उपमहानगरपालिका-८ बस्ने २० वर्षीय उमेश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ चिसापानी बस्ने २३ वर्षीय सुदिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-४ बिर्तामोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ५० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५५ ट्याब्लेट सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने २३ वर्षीय राजा माझी, सोही नगरपालिका-१ बस्ने २९ वर्षीय टेक बहादुर कुमाल र ३३ वर्षीय हर्क बहादुर कुमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित सोही ठाउँ बस्ने ३६ वर्षीय राज कुमार सेनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत बहराइज बाबागन्ज उत्तर प्रदेश बस्ने २९ वर्षीय कलिम सलमानीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।