प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

SMC एप्लिकेशनको माध्यमबाट अनलाईन स्क्यामिङ गर्ने कार्यमा संलग्न ११ जना पक्राउ

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, SMC एप्लिकेशनको माध्यमबाट अनलाईन स्क्यामिङ गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा चिनीया नागरिक ३७ वर्षीय HE. JIANGJIANG, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने रामेछाप घर भएका २१ वर्षीय मिलन श्रेष्ठ, काठमाडौं मण्डिखाटार बस्ने तनहुँ घर भएका १९ वर्षीय सौगात थापा, काठमाडौं लोलाङ बस्ने नुवाकोट घर भएका ३३ वर्षीय बिर बहादुर तामाङ, चितवन खैरहनी नगरपालिका-६ घर भएका २३ वर्षीया सोनम खातुन, काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीया प्रिया केसी, गुल्मी कालीगण्डकी गाउँपालिका-७ घर भएकी २२ वर्षीया मोनिका गुरूङ, धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएकी २१ वर्षीया गीता गुरूङ, पर्सा वीरगंज महानगरपालिका-१ घर भएका ३७ वर्षीय नासिर मिया अनसारी, सोही महानगरपालिका-४ घर भएकी ६६ वर्षीया सायरा खातुन र बारा घर भएका ६७ वर्षीय राम निवास कलवार रहेका छन् । 

चितवन खैरहनी नगरपालिका-६ स्थित कार्यालय स्थापना गरी एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि (S.M.C.N. Advertising Service Center Pvt Ltd) नामक कम्पनीको आवरण प्रयोग गरी SMC Application को माध्यमबाट नेटवर्क विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाई र भौतिक रूपमा कार्यालय समेत स्थापना गरी सर्वसाधारणमा यो पूर्णतः कानूनी काम हो भन्ने भ्रम सिर्जना गरेको, विश्व प्रसिद्ध फिल्म कम्पनीहरू (Universal, Warner Bros, Disney) सँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झुट्टो दाबी गरी "SMC" नामक मोबाइल एपमा आवद्ध गराएको, सदस्यहरूलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरे बापत आकर्षक कमिसनको प्रलोभन देखाइएको, कुनै वास्तविक व्यापारिक कारोबार नगरी नयाँ सदस्यहरूको पैसाबाट पुरानालाई प्रतिफल दिने 'पोन्जी मोडल' अपनाएको खुल्न आएको छ । साथै उनीहरूले हालसम्म १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रूपैयाँ बराबरको रकम ठगी गरेको समेत खुल्न आएको छ । 

उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी तथा संगठित अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-११-३०

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका-१ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका-५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-१ रानीवनबाट पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-११-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने सिन्धुली कमलामाई नगरपालिका-७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका-११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका-९ घर भएका ४१ वर्षीय अम्बर गुरूङ रहेका छन् ।  पक्राउ मध्ये कमलाले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ, सविनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अम्बरले क्रोएशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कमलालाई काठमाडौं महानगरपालिका-१५ बाट र सविनालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बाट बुधबार तथा अम्बरलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।