अवैध लागूऔषध विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०९-२८
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-३ रानीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ३० मिलिग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने सप्तरी घर भएका ३३ वर्षीय सुन्दर मुखिया, काठमाडौं रानीबारी बस्ने सप्तरी घर भएका ३३ वर्षीय सुरेश कुमार ठाकुर र काठमाडौं कलंकी बस्ने भारत घर भएका २५ वर्षीय पिण्डु कुमार जादव रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रौतहट, परोहा नगरपालिका-७ बसिर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय ६० ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय शेखर पुलामी मगर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिएल ८८४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ७ सय ६० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो २ सय २८ ट्याब्लेट र नाइट्राभेट २० ट्याब्लेट सहित कञ्चनपुर कृष्णपुर नगरपालिका-५ बस्ने २८ वर्षीय हरिश विष्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-१ लठैयाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ सय ८२ ग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय नन्दलाल उपाध्यायलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनको पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ रामनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ किलो ५ सय ६५ ग्राम सहित बझाङ केदारस्यु गाउँपालिका-७ बस्ने ४५ वर्षीय जनक बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८८ ट्याब्लेट सहित गोरखा शहिद लखन गाउँपालिका-३ नयागाउँ बस्ने २४ वर्षीय कमल बसेललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.१ ख ९६७२ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-२ टटुवामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने ३४ वर्षीय मानफ कुमार मेहत्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचिनगर नगरपालिका-११ कालिका सिमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ५० मिलिग्राम र नगद ३७ हजार ५ सय रूपैयाँ सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २६ वर्षीय बिमल मेचे र सोही नगरपालिका-११ बस्ने २३ वर्षीय प्रबिन राई रहेका छन् । इलाका प्रहरी कार्यालय बुधबारे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ७ जनालाई नियन्त्रणमा लिएको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ मंगलबारे बस्ने २४ वर्षीय विकाश कार्की समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश नं.०१-०२-००४ ह ३७७४ र प्रदेश नं.०१-०२-००४ ह ९६०८ नम्बरको अटोमा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ चालिसकिलोस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, फेनारगन ७४ एम्पुल र बुप्रेनोर्फिन ७४ एम्पुल सहित गोरखा, गोरखा नगरपालिका-१० पन्ध्रकिलो बस्ने २८ वर्षीय रूकेस अधिकारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले दाङबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ख ०३५७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-६ घोड्सुवा बस्ने ३१ वर्षीय सन्तोष बिष्ट र ३४ वर्षीय सागर साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले से.२ प ९००३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, सुरुङ्गा नगरपालिका-४ कदमहाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ चकदह बस्ने २२ वर्षीय पारसमनी चौधरी र २० वर्षीय विनय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले स.४ प ७७२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।