अपराध रहित समाज निर्माणमा नागरिकको सहकार्य आवश्यक : प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०९-२८
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा अमन चयन कायम राख्न एवम् अपराध रहित समाज निर्माणमा प्रहरीको एकल प्रयासले मात्र नभई नागरिकसँगको साझा सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा सोमबार आयोजित समारोह बिच ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह-२०८२ विशेषलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले समाजमा हुने कुनै पनि आपराधिक गतिविधिहरूको सूचना दिन तथा त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनको लागि सबै नागरिकहरूको आ-आफ्नो क्षेत्रमा उत्तिकै भूमिका रहेन उल्लेख गर्दै आजको यस सन्देशमूलक कार्यक्रमले सभ्य एवम् सुरक्षित समाज निर्माण गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्याब्सन भक्तपुरद्वारा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगीताका विजयी छात्र-छात्राहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, कलाकारद्वय मनोज गजुरेल, कृष्ण कँडेल, पूर्व खेलाडी उपेन्द्रमान सिंह तथा रोटरी क्लब भक्तपुरका अध्यक्ष डिल्लीराम गिरीले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष राजकृष्ण गोराले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले ‘हाम्रो प्रहरी’ कार्यक्रमको अवधारणा सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।