अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-०९-२९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२० भीमसेनस्थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६५ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३० वर्षीय विवेक सिंजाली मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय २० ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-५ घर भएका २३ वर्षीय आकाश केसी र सर्लाही लालबन्दी नगरपालिका-२ घर भएका २४ वर्षीय विशाल प्रधान रहेका छन् । प्रहरी वृत गौशालासमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने धनगढी उपमहानगरपालिका-३ बिशालनगर घर भएकी २५ वर्षीया लक्ष्मी चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपहानगरपालिका-४ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो ५ सय ७६ ग्राम सहित बझाङ सूर्मा गाउँपालिका-२ बस्ने ५० वर्षीय जलहरी बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय विकाश भुजेललाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ५० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम र नगद २५ हजार रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने १९ वर्षीय उदय मुखिया र सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुमार मुखिया रहेका छन् । प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०४-००२ प २२४८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८४ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ भोलाँछे बस्ने ५० वर्षीय राजाराम मुलगुठी र चाँगुनारायण नगरपालिका-६ खरीपाटी बस्ने ३५ वर्षीय अभिषेक खड्का रहेका छन् । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा. ७८ प ३९४६ र बा. ५१ प १३४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।