गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-३०
- A
- A-
- A+
धनुषा, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ जनकपुरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । जस्तोसुकै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार सदैव कटिबद्ध रहेको बताउँदै नागरिकसँगको समन्वय तथा सहकार्यमा अपराध तथा हिंसा नियन्त्रण गरी जनसमुदायमा सुदृढ सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो ।
सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थापननै सुशासन, समृद्धि र विकासको आधार भएको चर्चा गर्दै प्रदेशमा चुनौतीको रूपमा रहेको खुला सिमाना, लागूऔषध ओसारपसार, सडक दुर्घटना लगायतका अपराध नियन्त्रणको लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुरक्षा सम्बन्धि बहुआयामिक विषयहरूमा केन्द्रित यस गोष्ठीबाट भएको मार्गनिर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।
नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदशको सुरक्षा अवस्था र सुरक्षा चुनौति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।