अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-१०-०२
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय मिलिग्राम सहित सोही नगरपालिका-२ पञ्चेटार बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुबास चौलागाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २८ वर्षीय ओम प्रकाश थारू र २० वर्षीय श्रवण कुमार थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.१२ प ५७१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ प्रतिक्षा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ घर भएका २२ वर्षीय कुमार मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१२ कोल्टे घोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट र भोमिन २ सय ८ ट्याब्लेट सहित कालिका नगरपालिका-३ बस्ने २० वर्षीय सरोज खड्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, लेटाङ नगरपालिका-३ क्याम्पस मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ९० ट्याब्लेट र डाईक्लोमाइन ४ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ दार्जिलिङ लाइन बस्ने २१ वर्षीय सुमन बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।