अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-१०-०४
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४० ट्याब्लेट सहित सोही महानगरपालिका-११ बस्ने २० वर्षीय शिव कुमार रायलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ फुस्रे डेरा गरी बस्ने २८ वर्षीय रोमन भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचालाइन बस्ने २८ वर्षीय राज कुमार राई समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र स्पास्पेन २ सय ६० ट्याब्लेट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोक धरानबाट खटिएको प्रहरीले राज कुमारको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २३ वर्षीय नरेश परियार र ३० वर्षीय गिर्जा बजगाई रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटीएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० बनकट्टीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय मुनिस राना र २० वर्षीय अविसेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।