गृहसचिव राजकुमार श्रेष्ठबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८२-१०-०४
- A
- A-
- A+
काठमाडौं, गृहसचिव राजकुमार श्रेष्ठले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
गृहसचिव राजकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
कार्यक्रममा गृहसचिव श्रेष्ठले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै कर्तव्य पालनका सिलसिलामा घाइते भई जीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । विभिन्न कालखण्डहरू पार गर्दै नेपाल प्रहरीलाई विद्यमान अवस्थासम्म ल्याईपुर्याउन विभिन्न भूमिकामा रहेर महत्वपूर्ण योगदान दिनुहुने प्रहरी कर्मचारीहरूको योगदानको प्रशंसा उहाँले गर्नुभयो ।
गृहसचिव श्रेष्ठले नेपाल प्रहरीले स्रोतसाधनको सीमितता र चुनौतीहरूको बावजुद अपराधको नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो । नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गृहसचिव श्रेष्ठले आसन्न निर्वाचनलाई सफल बनाउनको निम्ति सबैको सत्प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकायहरूबीच उच्च समन्वय तथा सहकार्य गरी योजनाबद्ध ढंगले कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी संगठनले गरेको अपेक्षा र आवश्यक स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनलाई संगठनले पूर्णरूपमा कार्यक्षेत्रमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा नेपाल प्रहरी संगठन र संगठनमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरू कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सेवालाई समयसापेक्ष, जनमुखी, प्रविधिमैत्री, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव क्रियाशील रहेको बताउँदै नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा गृह सचिवज्यूबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत व्यक्त गर्नुभयो ।
निरीक्षण भ्रमणको क्रममा गृहसचिव श्रेष्ठ समक्ष नेपाल प्रहरीका सह-प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, आसन्न निर्वाचन सुरक्षा, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।