भरपर्दो सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-१०-०७
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो । अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी थप क्रियाशील भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । साथै हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाई कार्य गर्न तथा निर्वाचन प्रहरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।