१६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-१०-०७
- A
- A-
- A+
काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ माघ ६ गते निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका १६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी उपरीक्षकहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक भारती रहनुभएको छ ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो क्षमता, कार्यकुशलता र संगठन प्रति पुर्याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सृजनशील र परिणाममूखी भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचन एकदमै सन्निकटमा रहेको र यसले प्रहरीको भूमिका अन्य अवस्थाको भन्दा अझ बढेको उल्लेख गर्दै संगठनको साख बढाउने गरी सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्राप्त जिम्मेवारीमा प्रखर रूपमा आफूलाई स्थापित गर्न निर्देशण दिनुभयो ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्राप्त जिम्मेवारीलाई उत्प्रेरित भई थप व्यावसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।