अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-१०-०९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ फारलाईन सेल्फि रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ६ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय उमेश विक, सोही उपमहानगरपालिका-४ बस्ने ५० वर्षीय देब लामा र राक्सिराङ गाउँपालिका-३ केराबारी बस्ने २९ वर्षीया सिर्जना दोङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना.२ ह ९४४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक देब तथा अटोमा सवार उमेश र सिर्जनालाई पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३१ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना मिहीपुर्वा बस्ने २१ वर्षीय हर्षित यादव र २२ वर्षीय अंकित कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले युपि ३२ पिटी ७४१० नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-३ मखनहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ सुकचैना बस्ने २० वर्षीय चन्दन कुमार यादव र १९ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको बीआर ३२ एक्स ६९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।