नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव सम्पन्न
२०८२-१०-१०
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको २७ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । सो अवसरमा उहाँले विद्यालयको वार्षिक मुखपत्र (दिप्तिका) को विमोचन गर्नुभयो ।
कार्यक्रममा संघकी अध्यक्ष कार्कीले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू, वार्षिक रूपमा उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यार्थीहरूको समूह, उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट शिक्षकहरू र उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान पत्र समेत प्रदान गर्नुभयो ।
कार्यक्रममा संघकी अध्यक्ष कार्कीले संस्कार सहितको शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै विद्यालयले विद्यार्थीहरूलाई नियमित शैक्षिक गतिविधिका साथसाथै व्यवहारिक सीप, आचरण र सामाजिक जिम्मेवारीमा समेत सक्षम बनाउनुपर्ने बताउनुभयो । साथै विद्यालयको निरन्तर उन्नती तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य तथा विद्यालय सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूबाट गीत, सांस्कृतिक नृत्य तथा तेक्वान्दो कला समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, अभिभावकहरू, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।