प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्घाटन
२०८२-१०-२०
- A
- A-
- A+
कपिलवस्तु, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वडा प्रहरी कार्यालय चन्द्रौटाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले मुलुकको संवेदनशील र जोखिमयुक्त वर्गमा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई सेवा, सुरक्षा, सहायता र न्यायको वातावरण उपलब्ध गराउनु नेपाल प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गर्दै नवनिर्मित भवनले उनीहरू विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्ने अपेक्षा लिएको बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई प्रहरीको सेवा प्राप्तिमा सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गरी निडर भई उजुरी गर्न तथा परामर्श लिन सक्ने वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । साथै प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक भौतिक पुर्वाधारहरूको पहिचान गरी सोही अनुरूप पुर्वाधार विकासलाई प्राथमिकतामा राखि संगठन अगाडि बढिरहेको उल्लेख गर्दै भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र UNOPS नेपालका Country Manager कोमल कार्कीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Senior Advisor एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ३६ लाख ६४ हजार ७ सय १ रूपैयाँ ८२ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।