प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्घाटन
२०८२-१०-२२
- A
- A-
- A+
सर्लाही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । नागरिकको हितमा अटल रही गुणस्तरीय सेवा प्रवाहमा सदैव क्रियाशील रहन उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिकको भावनाको धरोहर रहेको उल्लेख गर्दै यसको संरक्षण गर्ने दायित्व पनि सबै नागरिकहरूको रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई सभ्य, भयरहित र शान्तिपूर्ण किसिमले सम्पन्न गर्न सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत सबै प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बरहथवा नगरपालिकाका प्रमुख कल्पना कुमारी कटुवाल र सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ३७ लाख ६३ हजार ३ सय ८२ रूपैयाँ ५७ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।