गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ
२०८२-१०-२५
- A
- A-
- A+
काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” शुभारम्भ भएको छ । गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्घाटन गर्नुभएको हो ।
समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक संजालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूको बारेमा नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरू लगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिएको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उहाँले बताउनुभयो ।
गृहमन्त्री अर्यालले यस सम्मेलनमा हुने अन्तरक्रिया र बहसहरूले आम जनताले अपेक्षा गरे अनुरूप प्रहरी संगठन बनाउने, सेवा प्रवाहका सन्दर्भमा मूल्यवान तथा ठोस् सुझाव प्राप्त हुने र प्राप्त सुझाव, निष्कर्ष एवम् मार्गदर्शनहरूले नेपाल प्रहरीको रणनीतिक रूपान्तरणमा ठोस् योगदान पुर्याउने एवम् नेपाल प्रहरीले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो हुने विश्वास व्यक्त गर्नुभयो । सांगठनिक क्षमताहरूको पुनर्स्थापना र अपराधका नवीनतम् चुनौतीहरूको सम्बोधन गर्न सक्षम एवम् सुदृढ संगठन निर्माणका लागि यस सम्मेलन अत्यन्तै उपयोगी हुने तथा सम्मेलनका निष्कर्षहरू र तत्पश्चात्का नेपाल प्रहरीका रणनीति एवम् योजनाहरू कार्यान्वयनमा नीतिगत रूपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन र सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखा परेका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यस सम्मेलन महत्वपूर्ण हुने उल्लेख गर्दै सम्मेलनको पूर्ण सफलताको कामना समेत गर्नुभयो । विद्यमान अवस्थामा साइबर अपराध, आर्थिक अपराध जटिल रूपमा देखा पर्दै आइरहेको तथा परम्परागत अपराधका प्रवृत्तिहरूमा समेत परिवर्तन हुँदै आएको बताउँदै यस्ता अपराधहरू नियन्त्रण एवम् न्यूनीकरण गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र यस भूमिका निर्वाहमा सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आधुनिक प्रविधिको प्रयोग गरी प्रहरीले काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने उल्लेख गर्दै आगामी दिनमा नेपाल प्रहरीको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्नको लागि यस सम्मेलनले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुन अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताउनुभयो । संघीय शासन प्रणालीको कार्यान्वयन सँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र बहुआयामिक बन्दै गएको तथा यस्तो परिवर्तित समय सन्दर्भमा संगठनात्मक क्षमता, रणनीतिक सोच, प्रविधिको प्रयोग र अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउनु अहिलेको आवश्यकता र प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रविधिको तीव्र विकास, डिजिटल सुरक्षा जोखिम, जलवायु परिवर्तन जन्य विपद तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरूले प्रहरी सेवाको नीति र कार्यशैलीमा नवीन, व्यवहारिक र उत्तरदायी दृष्टिकोण अपनाउनु पर्ने आवश्यकता देखिएको उल्लेख गर्दै त्यसका लागि प्रहरीले हेर्ने दृष्टिकोण मात्र पर्याप्त नभई विषय विज्ञ, आम जनसमुदायहरूको परामर्श र दृष्टिकोण समेत आवश्यक रहेकोले यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनको अवधिमा हुने बहुआयामिक छलफल, अनुभवको आदानप्रदान, बौद्धिक तथा तार्किक बहस, विचार, विमर्श तथा राय सुझावले नेपाल प्रहरीको दीर्घकालीन योजना, रणनीतिक लक्ष्य र समय सापेक्ष कार्ययोजना निर्माणमा मूर्त आधार तयार गरी नेपाल प्रहरीको रणनीतिक योजना र कार्ययोजनाहरू निर्माणमा स्पष्ट मार्गदर्शन गर्ने उहाँले बताउनुभयो ।
समारोहमा नेपाल प्रहरी रणनीतिक सम्मेलन संयोजन तथा व्यवस्थापन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य तथा सम्मेलन सम्बन्धी जानकारी दिनुभएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।
दुई दिवसीय उक्त सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय : क्षेत्र, विद्यमान अवस्था र सुधारका उपायहरू, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू : पहिचान, रोकथाम र अनुसन्धानका प्रहरी रणनीतिहरू, विरोध प्रदर्शन व्यवस्थापन : नागरिकको संवैधानिक अधिकारको संरक्षण र राज्यको अनिवार्य दायित्व निर्वाहको सन्दर्भमा प्रहरी परिचालन र शान्ति सुव्यवस्थाको दृष्टिकोण, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन : दक्ष, उच्च मनोबल र उत्प्रेरित जनशक्ति सुनिश्चित गर्ने रणनीतिहरू, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता : सेवा प्रवाह, आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र अपराध अनुसन्धानमा सम्भावना र चुनौतीहरू, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी : क्षमता अभिवृद्धि, समन्वय, समुदाय सहकार्य र भावी आवश्यकताहरू एवम् सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका : सचेतना, प्रवर्तन र क्षति न्यूनीकरणको योजना सम्बन्धी विषयहरूमा वृहत रूपमा छलफल एवम् अन्तरक्रिया हुनेछ ।