अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१०-२६
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङ्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-६ जरङ्खु बस्ने नवलपरासी पुर्व घर भएका २४ वर्षीय गुराँस गुरूङ र काठमाडौं नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका-२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा ५५ प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालिकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौं महानगरपालिका-१८ घर भएका कुशलरत्न तुलाधर रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय धनराज बुढा समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिनेश विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, ग्रामथान गाउँपालिका-५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २० टयाब्लेट र स्पास्पेन १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका-५ तेतरीया चोकस्थित बैजनाथ औषधि पसलका संचालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका छन् । प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरीले तेतरीयाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटिमा सवार भकुलाललाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४२ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दिपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।