प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२-१०-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भएता पनि संचार माध्यमहरू लोकतन्त्रका मेरूदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिक बीचको सन्देश वाहकको रूपमा स्थापित संस्थाहरू भएको चर्चा गर्दै कुनैपनि घटनाक्रम बारे सर्वसाधारणको पहिलो धारणा संचार माध्यम मार्फत नै निर्माण हुने हुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्य, तथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु अत्यन्त जरूरी रहेको बताउनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फर्मेसन हुने, विचार फरक भएर डिस इन्फर्मेसन हुने, डिप फेक र एआइको दुरूपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटा सामग्रीले बढावा पाइरहेको कुरा हामी सबैको साझा चिन्ताको विषय रहेको उल्लेख गर्दै यस प्रकारको गतिविधिहरूले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र न्यायिक प्रक्रियामा समेत प्रत्यक्ष असर पार्ने भएको हुँदा यसको समाधानका उपाय र नीतिगत सुधारका विषयमा संयुक्त रूपमा गहिरो विश्लेषण र ठोस सुझाव निकाल्नु अन्तरक्रिया कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । संचार माध्यम र प्रहरीहरूले आपसी सम्मान, निष्पक्षता, व्यवसायिकता, संस्थागत मर्यादा र आचार संहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने एवम् प्रहरी र सञ्चार माध्यमहरू दुवैको साझा लक्ष्य सत्यको खोजी गर्नु रहेकोले दुवै पक्ष बीच प्रभावकारी अन्तरक्रिया, अन्तर निकाय सहयोग, समन्वय र सुस्पष्ट सूचना आदान प्रदान हुनुपर्ने उहाँले जोड दिनुभयो । साथै यस अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षा र संचार माध्यम बीचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा वरिष्ठ पत्रकार लक्ष्मण हुमागाँईले Misinformation, Disinformation र Deepfake को सम्प्रेषणले राष्ट्र र समाजमा पार्ने असर एवम् समाधानका उपाहरू तथा यसको नियन्त्रणमा सञ्चारकर्मीको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त कार्यपत्र माथि टिप्पणी प्रस्तुत गर्नुभएको थियो । यसैगरी अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले Misinformation, Disinformation र Deepfake को सम्प्रेषणले उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, अपराध अनुसन्धानमा हुने प्रभाव एवम् समाधानका लागि अवलम्बन गर्नुपर्ने रणनीतिहरू सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ पत्रकार प्रतिक प्रधानले प्रस्तुत भएको कार्यपत्र माथि सञ्चारकर्मीहरूको तर्फबाट टिप्पणी प्रस्तुत गर्नुभएको थियो । दुबै कार्यपत्रमा सहभागीहरूबीच वृहत रूपमा छलफल तथा अन्तरक्रिया भएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सूचना तथा प्रसारण विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, सञ्चारकर्मीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सञ्चारकर्मीहरूलाई अपराध अनुसन्धान प्रक्रियाको बारेमा जानकारी प्रदान गर्नु, नेपाल प्रहरी र सञ्चार माध्यमबीच प्रभावकारी सहयोग आदान प्रदानको रूपरेखा स्थापित गर्ने, दुवै पक्षको आ-आफ्नो भूमिका, साझा चुनौती र नैतिक द्विविधा सम्बोधन गर्ने, अपराध अनुसन्धानमा सञ्चार माध्यमको भूमिका, सार्वजनिक धारणा साथै यसको प्रभावको विश्लेषण गर्ने एवम् अपराध अनुसन्धान र अनुसन्धानात्मक प्रक्रियामा सञ्चार माध्यमको प्रभाव पहिचान गर्ने यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । 

 

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी रणनीतिक सम्मेलन सम्पन्न
२०८२-१०-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालित प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सोमबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक एवम् व्यवहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावहरूबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गर्नुभयो । प्रविधिको माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम् चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्नको लागि नागरिकको रचनात्मक सहयोगको पनि निरन्तर आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवम् वृत्ति विकासमा मार्गदर्शक हुने बताउनुभयो । सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरी प्रतिको विश्वासमा वृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरी रणनीतिक सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्मेलनको महत्व सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी रणनीतिक सम्मेलनको गतिविधि समेटिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्यसचिव लिलामणि पौडेल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, गृहमन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, नविल बैंकका प्रमुख कार्यकारी अधिकारी मनोज कुमार ज्ञवाली, कानुनविद्हरू विष्णु सापकोट, अपुर्व खतिवडा, लक्ष्मी बखाड्यो, डा. रमेश पराजुली, गोपाल रिजाल, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, मानवअधिकारकर्मी कृष्ण पहाडी, सुरक्षाविद् चिरनजंग थापा, वरिष्ठ कलाकार राजेश हमाल, लेखक खगेन्द्र संग्रौला, अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी, अन्तर्राष्ट्रिय विपद विज्ञ डा. सुमन कुमार कर्ण, सूचना प्रविधि विज्ञ गौरव राज पाण्डे, दीपक मल्ल, डा. श्रीधर मरासिनी, मनोज शाक्य, सडक पूर्वाधार विज्ञ ई. पार्थ पराजुली, सुनिल पौडेल, अनिल मर्सानी लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूको सहभागिता रहेको थियो । सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका लगायतका विषयहरूमा सहभागी र विषय विज्ञबीच वृहत रूपमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।      नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।      

तीन दिनको अवधिमै नेपाल प्रहरीलाई तीन वटा नवनिर्मित भवन हस्तान्तरण
२०८२-१०-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्दै नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । साथै उहाँले नागरिकको हितमा अटल रही गुणस्तरीय सेवा प्रवाहमा सदैव क्रियाशील रहन प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । यस नवनिर्मित भवनसँगै तीन दिनको अवधिमै नेपाल प्रहरीलाई तीन वटा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन हस्तान्तरण भएको छ । बुधबार इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र मंगलबार वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवन उद्‍घाटन भएको थियो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले छुट्टाछुट्टै कार्यक्रमबीच दुवै नवनिर्मित भवनहरूको उद्‍घाटन गर्नुभएको थियो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समयानुकुल आधुनिक एवम् प्रविधिमैत्री भवन निर्माण भएको र नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि हुनुका साथै यसबाट प्रवाह हुने सेवाको गुणस्तर पनि वृद्धि हुने बताउनुभएको थियो । नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको गुनासो एवम् समस्या सम्बोधन गर्न सक्षम हुने, प्रहरीको सेवा प्राप्तिमा सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गर्ने तथा परामर्श लिन सक्ने वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो । साथै प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक भौतिक पुर्वाधारहरूको पहिचान गरी सोही अनुरूप पुर्वाधार विकास नेपाल प्रहरीको उच्च प्राथमिकतामा रहेको र भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा समेत उहाँले गर्नुभएको थियो ।   Foreign, Common Wealth & Development Office (FCDO-UK) को आर्थिक सहयोगमा UNOPS द्वारा संचालित Security and Justice Program (SJP) कार्यक्रम अन्तर्गत उक्त भवनहरू निर्माण सम्पन्न भएको हो । उक्त परियोजना अन्तर्गत हाल सम्म ४ वटा भवन निर्माण भइसकेको र ११ वटा भवनहरू निर्माणको क्रममा रहेका छन् । विगत लामो समयदेखि बेलायत सरकारले नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र समुदायसँगको समन्वय र सहकार्य बढाउनको लागि विभिन्न परियोजनाहरू मार्फत महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ । 

पाँच जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-१०-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ५ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ माघ १९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा ५ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भिम कुमारी पाण्डे, प्राविधिक प्रहरी उपरीक्षकहरू ईशामाया केसी, मोहन सिंह धामी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू मिनु अवाले र अशोक केसी रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा प्राविधिक समूहको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै सांगठनिक उद्देश्य प्राप्तिमा थप योगदान पुर्‍याउन उहाँले निर्देशन समेत दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न परिस्थितिको विश्लेषण गरी आफ्नो क्षमता एवम् दक्षता प्रदर्शन गर्दै उच्च मनोबलका साथ थप सक्रिय भई आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।    समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक भिम कुमारी पाण्डेले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको श्रीवृद्धिका लागि थप उत्प्रेरित भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

वार्षिक कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगती समीक्षा सम्पन्न
२०८२-१०-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्दै फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण एवम् आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो । हिरासत व्यवस्थापनमा थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने बताउँदै कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरी आगामी दिनमा असल अभ्यासहरूलाई आत्मसाथ गरी कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक प्रगती समीक्षा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्ध वार्षिक अवधिका प्रमुख उपलब्धिहरू, कार्यसम्पदान सम्झौता कार्यान्वयनका चुनौतीहरू, प्रगती प्रतिवेदनमा देखिएका समस्याहरू र कार्यसम्पदान सम्झौता कार्यान्वयनमा सुधारका क्षेत्रहरू लगायतका विषयवस्तुहरू समेटिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८२-१०-२२

सर्लाही, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । नागरिकको हितमा अटल रही गुणस्तरीय सेवा प्रवाहमा सदैव क्रियाशील रहन उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवन नागरिकको भावनाको धरोहर रहेको उल्लेख गर्दै यसको संरक्षण गर्ने दायित्व पनि सबै नागरिकहरूको रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई सभ्य, भयरहित र शान्तिपूर्ण किसिमले सम्पन्न गर्न सूचना संकलनलाई उच्च प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत सबै प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा बरहथवा नगरपालिकाका प्रमुख कल्पना कुमारी कटुवाल र सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड ३७ लाख ६३ हजार ३ सय ८२ रूपैयाँ ५७ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८२-१०-२१

बाँके, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुरको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने हिंसा लगायत अन्य विविध गतिविधिलाई सम्बोधन गर्नेछ भन्ने अपेक्षा लिएको बताउनुभयो । नवनिर्मित भवनबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि हुनुका साथै नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । विगत लामो समयदेखि बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत उहाँले गर्नुभयो । कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र UNOPS नेपालका Country Manager कोमल कार्कीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल २ करोड १४ लाख ७३ हजार १ सय ७ रूपैयाँ ६१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।