अवैध लागूऔषध सहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ
२०८२-११-०४
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-९ बगैँचा लाइनबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ सय ६० ट्याब्लेट सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी, ४१ वर्षीय हेमन्त लामा र कोशी गाउँपालिका-५ कुमयाही बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।