अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१६
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३२ सहयोगीनगरबाट नियन्त्रित लागूऔषध डाइजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, आइपिपिएल २२ एम्पुल र नगद ३० हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुङ्गल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ घर भएका ३१ वर्षीय इन्द्र तामाङ र काठमाडौं बिजुलीबजार बस्ने सुनसरी रामधुनी नगरपालिका-२ घर भएका ३७ वर्षीय सुरेन्द्र खवास रहेका छ्न् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२ बालकुमारी मण्डीस्थित कुखुरा पसल संचालन गरी बस्ने झापा घर भएका ३७ वर्षीय टिकेन्द्र राजवंशीलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ लायन्सचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८५ ग्राम ७ सय ५० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३२ बस्ने १६ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० थापा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-९ बस्ने २५ वर्षीय खगेन्द्र दयाल र डडेल्धुरा आलिताल गाउँपालिका-८ बस्ने २१ वर्षीय भरत बहादुर कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ५३१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, लहान नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सप्तरी सुरूङ्गा नगरपालिका-५ बनिगामा टोल बस्ने ३८ वर्षीय संतोष कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले को.३७ प ६१५८ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० न्युरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सुशिल कुमार लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगरपालिका-१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बझाङ छबिस पाथिभरा गाउँपालिका-७ बस्ने २२ वर्षीय अजित बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ख ३७९८ नम्बरको बसका सहचालक बोहरालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ नल्काघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-१ बस्ने २९ वर्षीय किरण चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।