निर्वाचन प्रहरीहरूलाई शुभकामना सहित बिदाइ
२०८२-११-२८
- A
- A-
- A+
काठमाडौं, प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार शुभकामना सहित बिदाइ गरिएको छ ।
आफ्नो कार्यअवधि सफलतापूर्वक सम्पन्न गरेका निर्वाचन प्रहरीहरूलाई ७७ वटै जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत प्रहरी कार्यालयहरूमा बिदाइ कार्यक्रम आयोजना गरी उनीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै आगामी जिवनको प्रगति र समृद्धिको कामना सहित बिदाइ गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ बमोजिम देशभरबाट गत माघ १८ गते निर्वाचन प्रहरीहरूलाई नियुक्ति पत्र दिइएको थियो ।
निर्वाचन सुरक्षार्थ १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । छोटो अवधिको तालिम पश्चात मतदान केन्द्रमा नेपाल प्रहरीसँग परिचालित भई फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हर परिस्थितिहरूमा अहोरात्र परिचालिन भई महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण निर्वाचन प्रहरी प्रति नेपाल प्रहरी उच्च सम्मान व्यक्त गर्दछ । मुलुकलाई सर्वोपरी ठानी सार्वजनिक शान्ति र अमनचयन राख्ने कुरामा मुलुक प्रतिको समर्पण भाव निरन्तर रहिरहने समेत नेपाल प्रहरीले विश्वास लिएको छ । निर्वाचनको अवधिमा निर्वाचन प्रहरीहरूले प्रदर्शन गरेका उच्च अनुशासन, धैर्यता, व्यवसायिकता एवम् लगनशिलता प्रशंसा गर्दै आगामी दिनहरूमा राष्ट्रको शान्तिसुरक्षा, विकास र समृद्धिमा उदाहरणीय भूमिका निर्वाह हुने अपेक्षा राखिएको छ ।