अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-१२-०८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल न्यू निप्पोनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० ग्राम र नगद २ लाख ९४ हजार ९ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने चितवन घर भएकी ४० वर्षीया सपना गुप्ता, चितवन भरतपुर महानगरपालिका-२ बस्ने तनहुँ घर भएका ४२ वर्षीय लुज शाक्य र काठमाडौं टोखा नगरपालिका-२ बस्ने कास्की घर भएका २२ वर्षीय जोशिल बानियाँ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगरपालिका-६ बस्ने २७ वर्षीय निशान राया र मोरङ उर्लाबारी नगरपालिका-५ बस्ने २३ वर्षीय साइमन गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ४१९७ नम्बरको हायसमा सवार निशानलाई ८ ग्राम ४ सय ५० मिलिग्राम र बा.५ ख १९५७ नम्बरको हायसमा सवार साइमनलाई ५ सय ९० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।