अवैध लागूऔषध सहित पक्राउ
२०७८-११-०३
- A
- A-
- A+
पर्सा, पटेर्वासुगौली गाउँपालिका-२ रंगपुर बजारबाट करिब ५ केजी अफिम जस्तो देखिने कालो लेदो पदार्थ सहित मकवानपुर राक्सीराङ गाउँपालिका-५ बस्ने २५ वर्षीय सुजन मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-००७ प ६९९० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार सुजन मोक्तानको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, बिष्णु गाउँपालिका-२ स्थित सडकबाट १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित कौडेना गाउँपालिका-२ बस्ने २४ वर्षीय बिकास राउतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जाँदै गरेको बिआर ३० डब्लु ५४६४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकल पछाडी बोराभित्र लुकाई लैजाँदै गरेको उक्त गाँजा फेला पारी मोटरसाइकल चालक बिकासलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ अर्चलबोटबाट करिब २ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ चित्रे घर भएका १९ वर्षीय किरण विक, सोही ठाउँ बस्ने २३ वर्षीय विनोद पुन र १९ वर्षीय सागर विक रहेका छन् । उनीहरूले गाँजा किनबेच गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), विनयीत्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा लु.२ ख ४५६९ नम्बरको बसबाट नियन्त्रित लागूऔषध २ सय ३६ एम्पुल नुर्फिन, २ सय ३९ एम्पुल डाईजेपाम र २ सय ३७ एम्पुल फेनारगन मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । दाउन्नेस्थित सडकमा खटिएको प्रहरीले बसलाई जाँच गर्नेक्रममा बसभित्र सामान राख्ने र्याकमा झोलाभित्र रहेको हाल कसको हो भनि नखुलेको उक्त लागूऔषध बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।