जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
२०७८-११-०३
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी इचङ्गुनारायण नगरपालिका-२ ठूलोभर्याङ बस्ने संखुवासभा मकालु गाउँपालिका-१ स्थायी वतन भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पालाई घटनाको २४ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उनीउपर जिल्ला अदालत संखुवासभाबाट २०६१ चैत १० गते ५ वर्ष कैद र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं ठूलोभर्याङमा फेला पारी पक्राउ गरेको हो ।
उनलाई २०५४ पुस १८ गते राति मकालु गाउँपालिकास्थित चत्वेक भन्ने स्थानमा पीडित महिला एक्लै आउँदै गरेको फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।