प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्घाटन
२०८२-१२-१९
- A
- A-
- A+
दाङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि गरेको सहयोगको चर्चा गर्दै नवनिर्मित भवनलाई सफलतापूर्वक समयमै सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा नागरिकमैत्री हुनुका साथै पीडा र अन्यायमा परेका व्यक्तिहरूको गुनासो सम्बोधन गर्न समेत सक्षम हुने बताउनुभयो । नागरिकको समस्या प्रति थप संवेदनशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Advisor एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलायत सरकारको सहयोगमा कुल २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रूपैयाँ ३५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।