प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान

२०८२-१२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । जसमध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त आव्हान गरिएको हो । 

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ६५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव उपरीक्षक पदका लागि १ जना, प्राविधिक प्रहरी निरीक्षक पदका लागि १० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, विधि विज्ञानतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २ जना र प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि ३ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त ४ सय ७८  जना प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । 

दरखास्त दिने उम्मेदवारहरू मध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदको लागि नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।  

ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, विधि विज्ञानतर्फ नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै प्राविधिक प्रहरी जवान पदको लागि ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र, ३ वटा जिल्ला प्रहरी परिसर र ७४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सकिने छ । 

प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २५ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् । साथै प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २६ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । 

सम्बन्धित समाचार
बिचौलिया रहित नागरिकमैत्री प्रभावकारी सेवा प्रवाह नै प्रहरीको उच्च प्राथमिकता
२०८२-१२-१९

काठमाडौं, समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।  प्रचलित कानुनको कार्यान्वयनद्वारा विधिको शासनको प्रत्याभूति गराउँदै जेन-जी आन्दोलनको मर्म र नयाँ सरकार गठन पश्चात् मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्दै सुशासन, प्रशासनिक पुनर्संरचना र जनजीविकामा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यका साथ नेपाल सरकारबाट जारी भएको “शासकीय सुधार सम्बन्धी सरकारका १०० कार्यसूची” को भावना अनुरूप नेपाल प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्दै आइरहेको छ । प्रहरी कार्यालयहरूमा सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ बिचौलियाहरू हावी भएको सूचनाहरू निरन्तर प्राप्त भइरहेको सन्दर्भमा मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले बिचौलिया रहित नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न परिपत्र जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “ नेपाल प्रहरीको मुख्य उद्देश्य नै बिचौलिया रहित नागरिकमैत्री, पारदर्शी एवम् छिटो छरितो सेवा प्रवाह गर्नु हो । प्रत्यक्ष सेवा प्रवाह हुने प्रहरी कार्यालय तथा अन्य कार्यालय वरपर रहेर छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाइ आम नागरिकलाई दुःख, हैरानी दिने व्यक्ति तथा बिचौलीयाहरू पहिचान र पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न प्रहरी सक्रिय रूपमा परिचालित रहेको छ ।”  जिल्ला प्रहरी कार्यालयदेखि मुद्दा चल्ने इलाका तह सम्मका कार्यालयको मुख्य प्रवेशद्वार र वरिपरिका मुख्य स्थानहरूमा सिसिटिभी जडान गरी अवलोकन गर्ने/गराउने, दैनिक आउने व्यक्तिहरूको अभिलेख राख्ने र बिचौलियाहरूको प्रवेश तत्काल निषेध गरिने छ । कार्यालय परिसरमा अनावश्यक भीडभाड हुन नदिनका लागि सम्भव भएसम्म पीडितलाई मात्रै अन्यथा पीडित वा सेवाग्राहीलाई भाषाको समस्या भएमा, विकलाङ्ग वा अशक्त भएको अवस्थामा पीडित सँगै आएका नजिकको व्यक्ति वा निजले इच्छाएको व्यक्तिको पृष्ठभूमि, साथमा आउनुको उद्देश्य र औचित्य बुझेर त्यस्तो व्यक्तिको अभिलेख राखेर मात्रै प्रहरी कार्यालयमा प्रवेश गर्ने दिइनेछ ।  प्रहरी कार्यालयमा कुनै निवेदन, उजुरी दिन वा गुनासो गर्न आएको व्यक्ति आफै उजुरी लेख्न नसक्ने, पढ्न लेख्न नसक्ने अवस्थाको भएमा निजको नजिकको आफन्तलाई रोहबरमा राखी पीडितकै उपस्थितिमा प्रहरीले निवेदन, उजुरी लेख्न सहयोग गर्न सक्नेछन् । कुनै पनि घटना वा अपराधलाई सामाजिक रूपमा हल गर्ने, समाजमा नै न्याय निरूपण गर्ने वा दुवै पक्षलाई सहमतिमा ल्याइ मिलापत्र गर्ने उद्देश्यका साथ प्रहरी कार्यालयहरूमा पञ्चायती गर्ने, छलफल गर्ने जस्ता कार्य तत्काल बन्द गरी कानुन बमोजिम काम कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “कुनै प्रभाव वा दबाबमा नपरी न्यायिक प्रक्रियाको पूर्ण पालना गर्दै शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ ।” काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा सो मातहतका प्रहरी कार्यालयहरूले लापरवाही गर्दै परिपत्रको पालना नगरेमा एवम् प्रहरीको सेवा प्रवाहमा सुधार आउन नसकेको गुनासो प्राप्त भएमा कार्यालय प्रमुखहरूलाई समेत जिम्मेवार बनाई समग्र कार्यसम्पादनमा समेत मूल्याङ्कन गरिने छ । 

निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
२०८२-११-२१

 काठमाडौं, देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र  सुदूरपश्चिम प्रदेशमा ४ जना गरी २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा निगरानीमा राख्नुका साथै  निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्नहरूलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी देशभरका विभिन्न स्थानबाट निर्वाचनको समयमा निर्वाचन आचारसंहिता विपरीत र विना अनुमति चलाइएका २ हजार ५ सय  ९७ वटा सवारी साधनहरूलाई होल्ड गरिएको छ । जसमध्ये २ हजार ३ सय ५१ वटा २ पाङ्ग्रे र २ सय ४६ वटा चार पाङ्ग्रे सवारी साधनहरू रहेका छन् । काठमाडौं उपत्यकामा ८ सय ३० वटा, कोशी प्रदेशमा ११ वटा, मधेश प्रदेशमा १ सय ७९ वटा, बागमती प्रदेशमा २ सय ८४ वटा, गण्डकी प्रदेशमा २ सय ७६ वटा, लुम्बिनी प्रदेशमा ८ सय ८७ वटा, कर्णाली प्रदेशमा २२ वटा र  सुदूरपश्चिम प्रदेशमा १ सय ८ वटा सवारी साधनहरू होल्ड गरिएको हो । यस्तै काठमाडौं उपत्यकाको २ ठाउँमा समेत गरी देशभरका १५ ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । नेपाल प्रहरीले ती फेला परेका शंकास्पद वस्तुहरू डिस्पोजको लागि नेपाल सेनासँग आवश्यक समन्वय गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा सुरक्षित रूपमा सफलतापूवर्क सम्पन्न गर्न नेपाल प्रहरी देशै भर प्रभावकारी रूपमा परिचालित भई आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा वहन गरेको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको स्पष्ट कार्यादेश अनुरूप निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आधारभूत तहदेखि विशिष्ट श्रेणी सम्मका सम्पूर्ण प्रहरी कर्मचारीहरू उच्च मनोबल, कर्तव्यनिष्ठा र समर्पणका साथ खटिएको हो । उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोगका साथै निर्वाचन क्षेत्रमा देखा पर्न सक्ने सानो भन्दा सानो सुरक्षा चुनौतीलाई सुक्ष्म रूपमा विश्लेषण गरी अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय एवम् सहकार्य गरी नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरेको छ ।  निर्वाचन क्षेत्रलाई सुरक्षित एवम् शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले Election Management Information System (EMIS), GIS Software, CCTV Surveillance, Drone Surveillance, Body worn Camera, RTVS (Real Time Video Surveillance) लगायतका आधुनिक प्रविधिको प्रयोग गरी प्रत्यक्ष निगरानी गर्नुका साथै आवश्यक सुरक्षा रणनीति तर्जुमा समेत गरेको थियो ।

इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति फिलिपिन्सबाट पक्राउ
२०८२-१०-२८

काठमाडौं, आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी काभ्रे ठेगाना भएका प्रकाश पाठक पक्राउ परेका छन् । एनसिबि मनिला, फिलिपिन्सको समन्वयमा फिलिपन्सबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने कसुरमा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ मंसिर १७ गते उनी विरूद्ध डिफ्युजन जारी भएको थियो ।  उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ । इन्टरपोलसँगको समन्वयमा फरार प्रतिवादीहरूलाई पक्राउ गर्न एवम् अन्तर्राष्ट्रिय स्तरमा फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशील छ ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘अपराधमा संलग्न रही संसारको जुनसुकै कुनामा लुकेर बसेपनि त्यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिबद्ध रहेको छ । अपराधमा संलग्न रही फरार रहेका प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजी एवम् पक्राउको लागि इन्टरपोलसँग आवश्यक समन्वय गर्दै नेपाल प्रहरी अझ क्रियाशील भई कार्य गर्दै आइरहेको छ । साथै शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरी अझ सक्रिय भई विभिन्न सुरक्षा रणनीति समेत अवलम्बन गरी कार्यसम्पादन गर्दै आइरहेको छ ।’  चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ जना विरूद्ध रेड नोटिस र ३ जना विरूद्ध डिफ्युजन जारी भएको छ । जसमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ । यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा ३४ जना विरूद्ध रेड नोटिस र २ जना विरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम सुरू
२०८२-१०-२१

काठमाडौं, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आजबाट सुरू भएको छ । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई अनुशिक्षण प्रदान गरिएको हो ।   पहिलो चरण अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्यूरोहरू र नेपाल प्रहरी असपताल महाराजगंजमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी कार्यालय सहयोगी सम्म गरी जम्मा ४ हजार १ सय ४८ जनालाई चरणबद्ध रूपमा १० दिन सम्म उक्त अनुशिक्षण प्रदान गरिने छ ।   यसैगरी सबै जिल्ला प्रहरी कार्यालयहरूमा गठित निर्वाचन सेल मार्फत चरणबद्ध रूपमा निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम संचालन गरिने छ । अनुशिक्षण कार्यक्रममा निर्वाचन सुरक्षा, परिचय, निर्वाचनमा प्रहरीको भुमिका, सुरक्षा व्यवस्थापन, निर्वाचन सुरक्षा र  प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने भूमिका वा अवस्थाहरू, निर्वाचन कार्यमा सुरक्षा पुर्‍याउनु पर्ने क्षेत्रहरू, निर्वाचनमा आई पर्न सक्ने समस्याहरू, विभिन्न व्यक्तिहरूले प्रहरीबाट पाउने सेवाको अपेक्षा तथा निर्वाचनमा प्रहरीको दायित्व, मतदानकेन्द्रको निर्माण, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरू, निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापन सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७, प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली,२०७१ मा भएका निर्वाचन सम्बन्धी (अपराध एवम् दण्ड सजाय सम्बन्धी व्यवस्था) लगायतका विषयवस्तुहरूमा प्रशिक्षण प्रदान गरिने छ । 

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत कार्य गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा
२०८२-०९-२३

काठमाडौं, नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरूलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारवाही गरिएको हो । कारवाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना,  प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना,  प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना,  प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् । उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहत देखि बढुवा रोक्का सम्मको कारवाही गरिएको छ । नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने सम्बन्धी Guidelines लागु गरेको छ । साथै नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुनेगरी हातहतियार, पोषाक, सवारी साधन लगायत प्रहरी गतिविधिका भिडियो/फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ । यसैगरी सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनियता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधि लगायतमा खलल पुग्ने जस्ता कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक या टिप्पणी गर्न हुदैन ।पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउन र कारवाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीब्र बनाएको छ ।