नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-१२-२५
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन समेत उहाँले निर्देशन दिनुभयो । शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउँदै सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी तोकिएको जिम्मेवारी उत्कृष्ट रूपमा वहन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला निकायसँग समन्वय गरी थप क्रियाशील हुनुपर्ने एवम् सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत विशेष ध्यान दिई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो कार्यक्षेत्रमा हुन सक्ने संभावित विपद् जन्य घटनाहरूमा जनधनको क्षति न्यूनीकरण गर्नको लागि विशेष सतर्कता अपाउनुपर्ने उल्लेख गर्दै विपद्का घटनाहरू सम्बन्धी पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । विपद्को समयमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा थप प्रभावकारी रूपमा परिचालित हुन समेत उहाँले सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै बल प्रयोगको सिद्दान्तलाई अवलम्बन गरी पूर्वअभ्यासमा जोड दिई प्रहरी कर्मचारीहरू तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।