अवैध लागूऔषध सहित पक्राउ
२०७८-०६-०७
- A
- A-
- A+
काठमाडौं, २०७८ असोज ६ गते
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित ना.३ ख ५९५० नम्बरको ट्रकबाट करिब १ सय ७५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ट्रकका चालक भिमफेदी गाउँपालिका-९ बस्ने ३१ वर्षीय मोहन स्याङतान र ट्रकमा सवार थाहा नगरपालिका-३ बस्ने २४ वर्षीय प्रसान्त कार्की रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पालुङबाट वीरगंजतर्फ जाँदै गरेको उक्त ट्रक बिग्रीई थानाभर्याङमा मर्मत गर्दै गरेको अवस्थामा ट्रक जाँच गर्दा ट्रकभित्र फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका-७ बस्ने २७ वर्षीय छोटु शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रुपन्देही, रोहिणी गाउँपालिका-५ मझौनी चोकबाट नियन्त्रित लागूऔषध २ सय ८१ एम्पुल डाईजेपाम, ३ सय १६ एम्पुल नोफिन र ३ सय ५ एम्पुल फेनारगन सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी रामग्रम नगरपालिका-१६ बस्ने १९ वर्षीय इस्लाम चुरीहार र सोही ठाउँ बस्ने २० वर्षीय आलमगरी चुरीहार रहेका छन् । प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले लु.४ प ११३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक इस्लाम र मोटरसाइकलमा सवार आलमगरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित होटल होटल ईमरेल्ड एण्ड लजबाट ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर फिदिम नगरपालिका-१ बस्ने २७ वर्षीय रोशन सुबेदी र सोही ठाउँ बस्ने २८ वर्षीय सुमन कार्की रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त लजको कोठा नम्बर २ जाँच गर्ने क्रममा कोठाना बसेका उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया पहाड रोडस्थित सोभान गड्सेरा होटलबाट २ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित धनगढी उपमहानगरपालिका-४ रातो पुल बस्ने ३७ वर्षीय बिरेन्द्र खडकालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।