नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-११-१०
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ सय ५० एम्पुल डाईजेपाम, १ सय ५० एम्पुल फेनारगन र १ सय ५० एम्पुल नुर्फिन सहित भारत अररिया जोगबनी हरिपुर-१३ बस्ने ४४ वर्षीय मोहमन जबिरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०२-०३-००१ ख ३३९३ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार जबिरलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी नागढुङ्गाबाटै काठमाडौं महानगरपालिका-७ बस्ने २१ वर्षीय कुशल घिमिरेलाई ६० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६४११ नम्बरको बसमा सवार कुशललाई झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
मोरङ, कटहरी गाउँपालिका-४ लोहन्द्रा पुल नजिकबाट बिराटनगर महानगरपालिका-५ बस्ने ३५ वर्षीय प्रयाश शर्मा र सुनसरी देवानगंज गाउँपालिका-१ बस्ने २२ वर्षीय जयकृष्ण मेहतालाई नियन्त्रित लागूऔषध ३८ बोतल कोडिन फोस्फेट, ३ सय ९० ट्याब्लेट नाईट्राभेट, १ सय ट्याब्लेट स्पास्मो र २९ बोतल डाईलेक्स डिसी सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा ग.१ प ९७०५ र प्रदेश १-०२-०४७ प १३१६ नम्बरको मोटरसाइकल पार्किङ गरी पुल नजिकै रहेको कटेरामा उनीहरूले उक्त लागूऔषध लुकाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।