प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पौष २०८२
आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०९-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ पुस २ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ३ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।    दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई.हरि डंगोल, प्राविधिक प्रहरी उपरीक्षकहरू ई.केविन जंग थापा, ई.रोसन सारू र ई.सुन्दर लाखे तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू दिपक केसी (खत्री), बिमल कार्की, ओम प्रकाश शर्मा र कृष्ण बहादुर बस्नेत रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । प्रहरी संगठनमा प्राविधिक समूहतर्फ रही व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा अझै उत्प्रेरित भई आफ्नो लगन र निष्ठालाई अक्षुण्ण राखी संगठनात्मक गतिशीलतामा थप योगदान पुर्‍याउन उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो बोली, वचन र व्यवहारलाई गुणस्तरीय बनाउनुपर्ने बताउँदै  नागरिकका समस्यालाई सम्बोधन गर्दै आफुलाई प्राप्त जिम्मेवारी उच्च मनोबल, सामूहिक भावना, सकारात्मक सोच एवम् इमानदारीपूर्वक सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आसन्न निर्वाचनलाई मध्यनजर गरी देखा पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय एवम् सहकार्य गरी आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न समेत उहाँले बताउनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. हरि डंगोलले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यवसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न थप क्रियाशील हुँदै नेपाल प्रहरी
२०८२-०९-०३

काठमाडौं, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी क्रियाशील छ । सीमित साधन स्रोतको उच्चतम प्रयोग गर्दै निर्वाचनलाई सफल बनाउन नेपाल प्रहरीले उच्च मनोबलका साथ सुरक्षा रणनीतिलाई प्रभावकारी रूपमा परिचालन एवम् व्यवस्थापन गरी थप सक्रिय रूपमा प्रस्तुत हुँदै आएको छ । विगतमा भएका निर्वाचनको अनुभव र सिकाई समेतको आधारमा मजबुत सुरक्षा व्यवस्था गर्न ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरिएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरू समेतलाई आत्मसात् गरी उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै निर्वाचन सम्पन्‍न गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको   छ । निर्वाचन लक्षित गस्तीलाई थप प्रभावकारी र पहुँचलाई व्यापक बनाइएको छ । हाल सम्म लामो दुरीको गस्ती १ हजार १ सय ३६ पटक र सानो दुरीको गस्ती ३ लाख ८९ हजार ९ सय ६० पटक गरिएको छ । यी गस्तीमा १३ लाख ४६ हजार ३ सय २८ जनशक्ती परिचालित गरिएको छ । निर्वाचनको विषयलाई लिएर हुन सक्ने तोडफोड, आगजनी जस्ता क्रियाकलाप नियन्त्रण गर्न दिनानुदिन प्रहरीले गस्तीलाई अझ प्रभावकारी रूपमा वृद्धि गर्दै आइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीले नियमित गस्तीको साथसाथै सूचना संकलन, खतरा मूल्याङ्कन सहितको विश्लेषण तथा प्रवाहलार्इ प्रभावकारी बनाउने कार्य गरिरहेको छ । सीमा क्षेत्रमा हुने घुसपैठ र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि नियमित अनुगमन तथा प्रभावकारी रूपमा प्रहरी परिचालित छन् ।’ उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचार प्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरिएको छ । निर्वाचन आयोग, निर्वाचन कार्यालयका पदाधिकारीहरू¸ निर्वाचनमा खटिने कर्मचारीहरू, राजनीतिक दलका कार्यालय, मतदानस्थल, निर्वाचन तथा मतदान सामग्री, मतपत्र छपाई, मतपेटिका ढुवानी, मतगणनास्थल लगायतको सुरक्षा व्यवस्थापनमा समेत प्रहरी थप संवेदनशील भई रणनीतिहरू तयार गरिएका  छन् । महत्वपूर्ण राजमार्ग लगायत सबै सडक मार्ग र अन्य पैदल मार्गहरूमा समेत कुनै किसिमको अवरोध हुन नदिन र अवरोध गरेमा तत्काल आवश्यक कारवाही एवम् समन्वय गरी सुचारू गर्न समेत प्रहरी तल्लीन छ । महत्वपूर्ण तथा संवेदनशील प्रतिष्ठान र संरचनामा विशेष सुरक्षा व्यवस्था मिलाउन, निर्वाचन विरोधी समूहहरूको गतिविधिको निगरानी, नियन्त्रण र कारवाही गर्न¸ अवैध तथा जबरजस्ती चन्दा संकलन र धम्की नियन्त्रण गर्ने, अराजक, उच्छृखंल, आपराधिक क्रियाकलाप एवम् गुण्डागर्दी नियन्त्रण गर्न प्रहरी क्रियाशील छ । निर्वाचनको समयमा अत्यावश्यक वस्तुको सहज आपूर्ति र सेवा प्रवाहको व्यवस्था मिलाउन, निर्वाचन आचार संहिता पालना गराउन, मानव अधिकारका आधारभूत मूल्य र मान्यताहरूलार्इ पालना गर्न/गराउन, निर्वाचन सम्बन्धी कार्यको केन्द्रदेखि मतदानस्थलसम्म अनुगमन, सुपरीवेक्षण गरी परिस्थिति अनुसार सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै लैजान प्रहरी थप क्रियाशील रहेको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भौतिक रूपमा क्षतिग्रस्त संरचनाहरूको पुन: निर्माण गरी पूर्ण क्षमतामा संचालन एवम् प्रभावकारी जनशक्ति परिचालनलाई समेत उच्च प्राथमिकतामा राखि प्रहरीले कार्यसम्पदान गर्दै आइरहेको छ । प्रहरी नायव महानिरीक्षक काफ्ले भन्नुहुन्छ, ‘जेन-जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालयहरूको पुन: निर्माण एवम् सवारी साधनको व्यवस्थापनको कार्यलाई तीव्रता दिई पूर्ण क्षमतामा संचालन गर्ने प्रयास गरिएको छ । निर्वाचनको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरी योजनाबद्ध रूपमा प्रहरी परिचालनलाई विशेष जोड दिएको छ । राजनीतिक दलहरूबीच हुने अस्वस्थ प्रतिस्पर्धा, जेन-जी आन्दोलनपछिका राजनीतिक विभाजन र असहमतिका कारण विभिन्न पार्टी वा समूहले निर्वाचनलाई बहिष्कार वा अवरोध गर्न सक्ने सम्भावनाका साथै मतदाता, उम्मेदवार र निर्वाचन कर्मचारीहरूलाई धम्की वा हिंसाको जोखिम जस्ता चुनौतीहरूको सूचना संकलनमा प्रहरी थप सचेत र सजग भई कार्य गरिरहेको छ ।’ साथै उम्मेदवारको सुरक्षा सुनिश्चितता, सामाजिक सञ्जालहरूको दुरूपयोगबाट उत्पन्न हुन सक्ने प्रतिकूल अवस्थाको नियन्त्रण, देशभर स्वतन्त्र उम्मेदवारको नाममा राजनीतिक दल प्रमुख, उम्मेदवारहरू विरूद्धमा उत्पन्न हुन सक्ने गतिविधि नियन्त्रणमा समेत प्रहरी सक्रिय रूपमा अगाडि बढिरहेको छ ।   आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार तथा असवाव लगायतका सामाग्रीबाट हुन सक्ने संभावित खतरालाई निस्तेज गर्न ‍लुटिएका हातहतियारको पहिचान र बरामद गर्न नेपाल प्रहरीले विशेष टोली निर्माण गरी परिचालन गरेको छ । आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार बरामद एवम् फरार कैदीबन्दी तथा थुनुवाहरूको पक्राउ बारे प्रहरी नायव महानिरीक्षक काफ्ले भन्नुहुन्छ, ‘आन्दोलनको क्रममा लुटिएका तथा हराएका हातहतियार बरामदको साथै कारागारबाट फरार कैदीबन्दी एवम् हिरासतबाट फरार रहेका थुनुवाहरूलाई पक्राउ गर्न प्रहरीले ७ वटै प्रदेशमा विशेष अभियान संचालन गरेको छ । निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गराउन देखापर्न सक्ने सम्भावित चुनौतीहरूको पहिचान र त्यस्ता चुनौतीहरूको सामना गर्न प्रहरी कटिबद्ध छ ।’ प्रतिनिधिसभा सदस्य निर्वाचनको एकीकृत सुरक्षा योजना, २०८२ तालुक गृह मन्त्रालयबाट स्वीकृत भइसकेको सन्दर्भमा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक तयारीका निमित्त नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीको अध्यक्षतामा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन नेपाल प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति बारे प्रहरी अतिरिक्त महानिरीक्षक चतुर्बेदी भन्नुहुन्छ, ‘आसन्न निर्वाचनलाई निष्पक्ष एवम् भयरहित वातावारणमा सम्पन्न गराउन उच्च मनोबालका साथ प्रहरी खटिरहेको छ । निर्वाचन लक्षित सुरक्षा योजना निर्माण एवम् परिचालनको लागि स्थानीय तह र अन्य सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूमा प्र.व.उ /प्र.उ को कमाण्डमा र जिल्ला प्रहरी कार्यालयहरूमा  प्र.ना.उ./प्र.नि.को कमाण्डमा निर्वाचन सेल गठन गरी प्रारम्भिक चरणका कार्यहरू गरिएको छ ।’  भौगोलिक विकटता तथा प्रतिकूल मौसमको कारण हुन सक्ने सुरक्षा चुनौतीहरूलाई मध्यनजर गरी मतदान केन्द्र तथा मतगणनास्थलसम्म निर्वाचन सामग्रीको ढुवानी तथा सुरक्षा व्यवस्थापनमा प्रहरीले आवश्यक योजना बनाइरहेको छ । नेपाल प्रहरीले निर्वाचनलाई सम्पन्न गराउन सबै सरोकारवाला पक्ष र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको छ । विभिन्न राजनीतिक दलहरूसँग नियमित संवाद तथा समन्वय साथै सर्वपक्षीय छलफल, अन्तर्क्रिया मार्फत निर्वाचनको वातावरण तयार गर्न प्रहरी क्रियाशील छ ।  

नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने पाँच जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका-१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका-६ घर भएका ४९ वर्षीय भिम बहादुर साउद रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लव, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना नाबालिकाहरूलाई उद्धार गरेको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ सय एम्पुल, फेनारगन ७ सय एम्पुल र नोर्फिन ७ सय एम्पुल सहित रौतहट गुजरा नगरपालिका-३ बस्ने २४ वर्षीय शेख मोसिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१-००६ ख ७८६६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ६० मिलिग्राम र नगद ९ हजार १ सय १५ रूपैयाँ सहित सोही ठाउँ बस्ने २० वर्षीय शिबु चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब २ किलो २ सय ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-३२ बेलवामा बस्ने ६५ वर्षीय समसुदिन मियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नयाँबस्तीबाट अमलेखगंज बजारतर्फ आउँदै गरेको म.प्र ०३-००१ ह २५८२ नम्बरको अटोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
२०८२-०९-०३

काठमाडौं महानगरपालिका-२६ ठमेलबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय ६३ ग्राम सहित मोरङ विराटनगर महानगरपालिका-१६ बस्ने ३९ वर्षीय रन्जोक उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२७ जमलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित डडेल्धुरा अमरगडी नगरपालिका-५ घर भएका २३ वर्षीय सुशान्त धानुकलाई बिहीबार बिहान पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  मोरङ, लेटाङ नगरपालिका-५ खेरूवा कुपटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय धिरज न्यौपानेलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२६ ज्योतीनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित सोही महानगरपालिका-२५ रातापुर बस्ने ३४ वर्षीय सुजन खड्कालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले ना. ५० प ९६९५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कन्काई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय गोपाल राजबंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट दुर्गापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, दमक नगरपालिका-६ बस्ने ३५ वर्षीय बिर बहादुर पौडेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित लमजुङ दोर्दी गाउँपालिका-९ बस्ने १९ वर्षीय लक्ष्मण बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा.प्र ०६-००१ ज ०४७२ नम्बरको माइक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-७ पिपलगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम,डिजिटल तराजु १ थान र नगद ३ हजार ९ सय ८० रूपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय बिशाल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ देउरालीबाट नियन्त्रित लागूऔषध डिकोलिक ३ हजार ७७ ट्याब्लेट र स्पास्पेन ५ हजार १ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय समिर राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । पाल्पा, रम्भा गाउँपालिका-३ सीतापहाडबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४४ एम्पुल, बुप्रेनोर्फिन ४४ एम्पुल र फेनारगन ४४ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ बस्ने ३० वर्षीय जयदेव विक र सोही महानगरपालिका-२७ बस्ने २७ वर्षीय अजित परियार रहेका छन् । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग. ५ प ८३५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्राम सहित चितवन राप्ती नगरपालिका-१२ भञ्ज्याङ बस्ने २२ वर्षीय निसान प्रजा र सोही नगरपालिका-१२ यउरालीटार बस्ने २२ वर्षीय सागर प्रजालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना. ६ ख १६१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । \रूपन्देही, सिद्धार्थनगर गाउँपालिका-९ गोनहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित ४ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तिलोत्तमा नगरपालिका-१ बस्ने १९ वर्षीय अभिसन क्षेत्री, सोही नगरपालिका-८ प्रदिपनगर बस्ने १९ वर्षीय रोहित कुमाल, सोही नगरपालिका-७ सेमरा बस्ने २० वर्षीय प्रज्जवलन गुरूङ र सोही नगरपालिका-५ नयामिल बस्ने २० वर्षीय सुदिप पाण्डे रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१३ प्रर्साहवाबाट अवैध लागूऔषध गाँजा ४ किलो ९ सय ७४ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४५ वर्षीया रम्भादेवी थारू र ललिता चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनीहरूको घर खानतलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न रहको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-८ शान्तिटोल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका ४३ वर्षीय यम बहादुर बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्ने झापा कचनकबल गाउँपालिका-३ घर भएका ५१ वर्षीय कृष्ण बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-९ घर भएका ४१ वर्षीय सूर्य बहादुर खड्का रहेका छन् । झुठ्ठा विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाई विभिन्न व्यक्तिहरू तेस्रो मुलुक जाने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई नागरिकता, लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८२-०९-०३

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको प्रहरीले धरानबाट चतरापुलतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१६ प ५७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक कबिराज र मोटरसाइकलमा सवार अपितलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०९-०२

  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१ निलोगेटबाट नियन्त्रित लागूऔषध डाईजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ७७ एम्पुल सहित सोही नगरपालिका-२ कालिकाटोल बस्ने ३५ वर्षीय सलिम मिया कुरेसीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.५४ प ८२९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  चितवन, कालिका नगरपालिका-७ बस्ने ६८ वर्षीय खडक बहादुर गुरूङलाई अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२६ बिशाल चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय सुबास विकलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ६३ एम्पुल, डाईजेपाम ६३ एम्पुल र फेनारगन ६३ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही नगरपालिका-३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ भुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, सूर्यविनायक नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर पाण्डुबजार बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका २८ वर्षीय सन्दीप बुढाथोकी, काठमाडौं जडीबुटी बस्ने सिराहा नगरपालिका-२० घर भएका २३ वर्षीय पंकज कुमार यादव र भक्तपुर सूर्यविनायक नगरपालिका-६ घलाते बस्ने ३२ वर्षीय रविन सुवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३३ वर्षीय राम बहादुर गोलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०६-००१ ज ०४५१ नम्बरको इभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, महालक्ष्मी नगरपालिका-८ चित्रे सिमानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छथर जोरपाटी गाउँपालिका-६ कोपी चोक बस्ने ४६ वर्षीय प्रेम गुरूङ र तेह्रथुम लालीगुराँस नगरपालिका-२ हुलाक टोल बस्ने ३१ वर्षीय तुलसी पौडेल  रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१० अरूणखोला बजारबाट नियन्त्रित लागूऔषध ब्रुप्रेनोर्फिन ४० एम्पुल, डाईजेपाम ४१ एम्पुल, फेनारगन ४ एम्पुल र नगद ४ हजार ५ सय २५ रूपैयाँ सहित धादिङ ज्वालामूखी गाउँपालिका-५ बस्ने २७ वर्षीय सागर अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुम्किबास समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१५ घर भएका ५० वर्षीय लाल बहादुर बराइलीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ भोटेवहाल बस्ने सोही महानगरपालिका-२१ सेतोवहाल घर भएका ४१ वर्षीय मनोहर लाल श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०८१ असार २३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग. २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाँउ बस्ने २२ वर्षीय बादल बादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । महोत्तरी, गौशाला नगरपालिका-८ खाल्टे बजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोनमा गाउँपालिका-३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको वीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०९-०१

स्याङ्जा, हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका-२ फेदीखोलाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०९-०१

काठमाडौं महानगरपालिका-२६ ठमेल क्वावहाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५० ट्याब्लेट सहित काठमाडौं नयाँबजार धारागल्ली बस्ने नवलपरासी पूर्व घर भएका २८ वर्षीय सचिन केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००८ प २२५३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१७ कोनियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७६ किलो गाँजा सहित रामेछाप खाडा देबी गाउँपालिका-१ बस्ने २८ वर्षीय सुबराज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.२१ च ७८५५ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुबराजलाई पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय सराफत अलिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाईजेपाम ३ सय १९ एम्पुल र फेनारगन ३ सय ५२ एम्पुल सहित अन्नपूर्ण गाउँपालिका-३ काडेँ बस्ने ४१ वर्षीय बिरेन्द्र तुलाचनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<
अधिक लोड >>
कम देखाउनुहोस् <<